अलपत्र बचतकर्ता, हुलाक बैंकका कर्मचारी करोडौं रुपैयाँ लिएर फरार

  • प्रकाशित मिति : २०८० भाद्र ८, शुक्रबार
  • नेपाल टेल

आर्थिक काराेबारका लागि वाणिज्यतर्फ भरपर्दाे र सुरक्षित निजीभन्दा सरकारी निकाय छन् । आम जनताकाे विश्वास पनि सरकारी बैंकमा नै छ । तर सरकारी बैकहरूबाट नै बचतकर्ता असुरक्षित भए जनता कहाँ जाने नेपाल सरकारमाथि ठूलाे प्रश्न उठेकाे छ ।

जनकपुरधामस्थित जिल्ला हुलाक कार्यालयमा सञ्चालित हुलाक बचत बैंकका कर्मचारीसुनिल कुमार दासले बचतकर्ताको करोडौं रुपैयाँ लिएर फरार भएको रहस्य खुलेको छ ।

नेपाल सरकारले हुलाक बचत बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय गरेपछि जनकपुरधामस्थित हुलाक बचत बैंकका जिम्मेवारी सम्हाल्दै आएका कर्मचारी दास साउन १४ गतेदेखि नै बैंकमा ताल्चा लगाएर फरार भएका हुन् ।

राष्ट्रिय बैंकमा हस्तान्तरणका लागि रकम र कागजात जिम्मा नलगाउँदै बैंकमा रहेका सयौं खाताधारीको रकम र हरहिसाबकाे कागजातसहित उनी सम्पर्कविहीन रहेका छन् । स्राेतका अनुसार सो बैंकमा बचतकर्ताहरुको करोडौं रुपैयाँ रहेको छ । दासले बचतकर्ताबाट रकम लिने सो वापत रसिद पनि दिने र ती रकम हुलाक बचत बैंककाे केन्द्रीय कार्यालय धनादेशमा जम्मा नगरेको कुरा समेत खुलेकाे छ ।

अवकाश प्राप्त कर्मचारी जनकपुरधाम ४ निवासी दिपनारायण साह भन्ने दिपो साहले सो बैंकमा २०६५ सालदेखि गएकाे असार मसान्तसम्म १० लाख १२ हजार रुपैयाँ जम्मा गरेका छन् । तर धनादेश कार्यालयमा धनुषास्थित ५२५ बचतकर्ताकाे हालसम्म ८ लाख ८८ हजार ९१२ रूपैया मात्र जम्मा छन् । दिपनारायणले दुखेसाे पाेख्दै भने-‘कर्मचारी दास फरार भएपछि आफ्नो रकमको जिम्मेवारी न त हुलाक कार्यालयले लिइरहेको छ, न राष्ट्रिय वाणिज्य बैंक नै ।’

उनी भन्छन्-‘हुलाक कार्यालयका प्रमुख जयचन्द्र साह भन्छन् कर्मचारी नै आइरहेका छैनन्, आफूसँग न हिसाब छ न रकम कहाँबाट दिने । वाणिज्य बैंकमा जाँदा अहिलेसम्म ती बैंकले रकम र हरहिसाब हस्तान्तरण नै गरेको छैन भने आफू रकम कसरी दिने । यस्तो अवस्थामा आफू अलपत्र भएको छु ।’

दिपनारायण जस्ता ती कार्यालयका कर्मचारीहरु पनि अलपत्र परेका छन् । बैंकका कर्मचारी नै फरार भएपछि रकम कसबाट लिने भन्ने अन्याैल भएकाे हाे । कार्यालय प्रमुख साहसँग बचतकर्ताको रकम उपलब्ध कसले गराउने बारे जिज्ञासा राख्दा उनले आफूलाई यसबारेमा केही थाहा नभएकाे सुनाए । ‘गएको जेठ महिनामा म यहाँ आएको हो । बैंकको सम्पूर्ण कार्यभार दास सम्हालिरहेका थिए। उसैंग सम्पर्क गर्नु । आफूपनि त्यसको खोजी गरिरहेका छौं ।’ उनले भने ।

यता कार्यालयबाट बिरामी बिदा भनेर गायब भएका नायब सुब्बा दासको मोबाइल साउन ३२ गतेदेखि नै स्वीच अफ छ । प्रमुख साहका अनुसार साउन १४ गतेदेखि गायब नै छन् । साउन १४ गतेदेखि गायब भएपछि घरमा ताकेता पठाउँदा १७ गते उनको बुवाले ३२ गतेसम्मको बिरामी विदाको निवेदन लिएर आएका थिए । ३२ गते बितिसके पनि हालसम्म सम्पर्कमा आएका छैनन् । मोबाइल पनि स्वीच अफ छ ।

साहले गएको २० गते मात्रै २ लाख र गत वर्ष फागुन ५ गतेका दिन ६० हजार रुपैयाँ जम्मा गरेका छन् । साहसँग जम्मा गरेको सबै रकमको बिल रसिद छ । तर दासले धनादेशमा सो रकम जम्मा गरेका छैनन् ।

धनादेशका सूचना अधिकारी शालिकराम बस्यालले दिएको जानकारी अनुसार धनादेशको विवरणमा दिपनारायणको नाममा अन्तिम रकम ४ हजार ६९० मात्रै २०७९ असार महिनामा जम्मा भएको छ । हाल उनले जम्मा गरेको रकमको हरहिसाब धनादेशमा छैन ।