खुकुरी हानाहानमा संलग्न धरानका उपमेयरका भाइसहित आठ जना पक्राउ

  • प्रकाशित मिति : २०८० भाद्र २८, बिहीबार
  • nepaltale.com

इलाका प्रहरी कार्यालय धरानले दुई ग्याँङबीचको झगडामा खुकुरी हानाहानमा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघासहित आठ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार विष्णुलाई धरान–१५ खोरिया बस्तीस्थित घरैमा पुगेर अर्को समूहले खुकुरी प्रहार गर्दा उनको अनुहारमा चोट लागेको थियो । उक्त घटनामा प्रहरीले तत्कालै आक्रमणकारी पक्राउ नगरेको भन्दै धरानका उपप्रमुख अइन्द्र विक्रम बेघाले फेसबुक लाइभ गर्दै प्रहरीसँग असन्तुष्टि पोखेका थिए ।

तर अनुसन्धानका क्रममा उपप्रमुख बेघाकै भाइ जिष्णु वेघाको समूहले धरान–१५ सुर्य बस्तीका सन्देश राईको समुहमाथि सांघातिक रुपमा खुकुरीले आक्रमण गरेको खुलेको हो । इलाका प्रहरी कार्यालय धरानले बिष्णुसमेतलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा २३ वर्षीय बिष्णुसहित धरान–१५ सूर्य बस्तीका २४ वर्षीय अमृत तामाङ, २३ वर्षीय अनिल मगर, २५ वर्षीय सजिव राई, २४ कै बाघबिरे भनिने सुरज तामाङ, २० का मेनल तामाङ, २९ का राजकुमार लिम्बू र २६ का दीपेन्द्र राई रहेको प्रहरीले जनाएको छ ।

उपमेयर बेघाका भाइ विष्णुको समुहले सूर्य बस्तीका सन्देशलाई पहिले खुकुरी प्रहार गरेर भागेका थिए । आक्रमणपछि विष्णु र उनको समूह भागेकोमा सन्देशको समूहले पनि उनलाई घरैमा पुगेर खुकुरी प्रहार गरेको जनाइएको छ ।

खुकुरी प्रहारबाट विष्णुको अनुहारमा चोट लागेपनि उनको अवस्था सामान्य रहेको तर विष्णुको खुकुरी प्रहारबाट सन्देश राईको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएको छ । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।

घटनामा संलग्न समुहका व्यक्तिहरुलाई पक्राउ गरिएकोले प्रहरीले गम्भीरताका साथ थप अनुसन्धान अघि बढाएको इलाका प्रहरी धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए । उनले पक्राउ परेका व्यक्तिहरूबाट तीन थान खुकुरी र गुलेली समेत बरामद गरेको जानकारी दिए ।

घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि नबढ्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भने स्थानीय प्रशासनप्रति अविश्वास उत्पन्न हुने गरी सामाजिक सञ्जालमा भड्किलो पोष्टहरु गरेका थिए ।

उनले यता उपमेयर बेघाको घरमा ढुंगामुढा भएको र उनका भाइ विष्णुमाथि खुकुरी प्रहार भएको एकतर्फी सूचना प्रवाह गर्दै समयमा प्रहरी नपुगेको आरोप लगाएका थिए । ‘आँटिलो र सरकारको आदेश मान्ने डिएसपी पठाइयोस्’ भन्दै सुरक्षाकर्मीमाथि नै अविश्वास उत्पन्न हुने गरी अभिव्यक्ति दिएका थिए ।

प्रहरीका अनुसार उपमेयर बेघाका भाइ बिष्णु भने पटक–पटक झैझगडामा संलग्न रहँदै आएको जनाइएको छ । विष्णुले भने २०७६ सालमा ज्यान मार्ने उद्योगमा संलग्न रहेर अदालतबाट ५ हजार जरिवानासहित ६ महिना कैद सजाय समेत भुक्तान गरेको जनाइएको छ ।

त्यस्तै २०७७ मा पनि विष्णु विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो । त्यसमा उनले सफाइ पाएपनि लगत्तै झैझगडामा संलग्न भएको पाइएको प्रहरीको भनाई छ । उनीमाथि पटक–पटक अभद्र व्यवहारसम्बन्धी उजुरी परेको प्रहरीले जनाएको छ ।