युवा संघ र दुर्गा प्रसाईंको कार्यक्रम : काठमाडौँमा ७ हजार सुरक्षाकर्मी परिचालन

  • प्रकाशित मिति : २०८० मंसिर ७, बिहीबार
  • nepaltale.com

आज काठमाडौँमा दुई समूहले छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दैछन् । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले तीनकुनेमा र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज ललितपुरको बल्खुमा कार्यक्रम गर्दैछ ।

दुई समूहको कार्यक्रममा झडप हुने सुरक्षा निकायले विश्लेषण गरेको छ । जसअनुसार उपत्यका प्रहरी कार्यालयले ठूलो संख्यामा सुरक्षा योजना तयार गरेर सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षा व्यवस्थापनका लागि कार्यक्रमस्थल नजिक करिब ७ हजार सुरक्षाकर्मी परिचालन हुने बताइएको छ । जसमा प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १५८८ सशस्त्र प्रहरी परिचालन हुने उपत्यका प्रहरी कार्यालयको तयारी छ ।

त्यस्तै करिब साढे तीन सय प्रहरी अनुसन्धान विभागबाट परिचालन हुनेछन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट करिब २ सय जना सादा पोसाकका प्रहरी परिचालित हुनेछन् ।​

कार्यक्रमस्थल वरपर करिब एक हजार ट्राफिक प्रहरी परिचालन हुनेछन् । काठमाडौँमा २६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन हुनेछन् ।