कारागार विभागसँग छैन अपांगता भएका कैदीबन्दीको तथ्यांक

  • प्रकाशित मिति : २०८० मंसिर १७, आईतवार
  • nepaltale.com

कारागार व्यवस्थापन विभागले अपांगता भएका कैदीबन्दीको तथ्यांक नराखेको पाइएको छ । विभागले सामान्य कैदीबन्दीको यकिन संख्या राखे पनि अपांगता भएकाहरूको संख्या भने राख्न सकेको छैन ।

कारागार विभागले देशभरका विभिन्न कारागारमा रहेका कैदीबन्दीको संख्या राखे पनि अपांगता भएका बन्दीहरूको संख्या राख्न नसकेको विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीले बताए ।

‘विभागसँग अपांगताको संख्या राख्न आधुनिक सफ्टवेयर नरहेकाले पनि समस्या छ । विभागले बनाएको पनि छैन,’ उनले भने, ‘विभागसँग प्राविधिक संयन्त्र नहुँदा अपांगताको संख्या राख्न गाह्रो भइरहेको छ ।’

विभागको आफ्नै समस्याका कारणले अपांगताको संख्या राख्न नसकेको सिवाकोटीको भनाइ छ । कारागारबाट दैनिक अपांगता भएका कैदीबन्दीहरू छुट्छन् र तिनीहरूको पनि तथ्यांक राख्न नसकेको उनले प्रस्ट पारे । सफ्टवेयरको विकास राख्न सकिने उनले बताए ।

त्यसैगरी, ललितपुरस्थित नख्खु कारागारमा विशेष अपांगता भएकाहरू १४ जना रहेको कारागार प्रमुख कल्पना घिमिरेले जानकारी दिइन् । सामान्य अपांगता भएकाहरूको संख्या नराखिएको उनले बताइन् ।

‘कारागारमा अपांगता भएकालाई हेर्न बेग्लै कर्मचारी तोकिएको छ,’ उनले भनिन्, ‘शौचालय जान गाह्रो भएकालाई सहयोगी कर्मचारीले लगिदिन्छन् । सहजीकरण गरेर खान तथा अन्य कार्य गर्नका लागि पनि सुविधा दिएको छ ।’

कारागार प्रमुख घिमिरेका अनुसार कारागारमा व्हिलचियर प्रयोग गर्ने दुई जना कैदीबन्दी रहेका छन् । अन्य बन्दी जस्तै उनीहरूलाई पनि सेवासुविधा प्रदान गरिएको छ ।

बन्दीहरूको शरीरको अवस्था हेरेर खान र बस्ने सुविधा प्रदान यहाँ गरिएको छ । केही बन्दीहरूले आय आम्दानीसमेत गरिरहेका छन् । र, केहीले कपाल काट्ने काम गरिरहेको उनले बताइन् ।

उनका अनुसार कारागारमा अपांगता भएकाहरू २५ देखि ४० वर्ष उमेर समूहका छन् । छुट्टाछुट्टै भवनमा राख्न भौतिक संरचना छैन । समय-समयमा सामाजिक मनोपरामर्श दिने काम पनि गरिन्छ । उनीहरूका लागि हौसला र आत्मबल प्रदान गरिन्छ ।

फरक क्षमता भएका व्यक्तिको वृत्ति विकासमा लागेका अभियन्ताहरू कारागार व्यवस्थापनको कार्यप्रति असन्तुष्टि छन् । अन्य कैदीबन्दीहरू जस्तो अपांगता भएका व्यक्तिलाई व्यवहार नगरेको अभियन्ताले बताएका छन् ।

पटक-पटक अवलोकन गर्दा अपांगता भएका कैदीबन्दीहरूलाई शौचालयको राम्रो व्यवस्था नभएको राष्ट्रिय पारा ओलम्पिक कमिटी नेपालको सदस्य विकास थापा बताउँछन् ।

उनले अवलोकन गर्दाको अनुभव सुनाए, ‘अपांगता भएका व्यक्तिहरूलाई प्रयोग गर्ने भाषासमेत असभ्य रहेको र उनीहरूले आफू हेपिएको महसुस गरिरहेका छन् । शौचालय र सुत्ने व्यवस्था राम्रो नभएको पायौँ ।’

कारागारमा अपांगता भएकाहरूलाई राख्न छुट्टै ब्लक तथा भवनको व्यवस्था गर्नुपर्ने उनले माग गरे । अपांगता भएकाहरूका लागि दोभाषेको व्यवस्था गर्नुपर्ने थापाको भनाइ छ ।

‘बोल्न नसक्नेहरूका लागि दोस्रो मानिसको व्यवस्था गर्नुपर्छ,’ थापा भन्छन्, ‘कतिपय बन्दी अध्ययन गर्न चाहने हुन्छन् त्यस्ताका लागि वैकल्पिक शिक्षाको व्यवस्था गरिनुपर्छ ।’

अपांगता भएकाहरू कारागारमा सबैभन्दा बढी हिंसामा पर्ने गरेको उनले जानकारी दिए । कारागारले पनि उनीहरूको हक र अधिकारलाई कुण्ठित गर्न नहुने थापाले प्रस्ट पारे । अपांगता भएका कैदीबन्दीलाई लक्षित गरी कारागार निर्देशिका बनाउन पनि उनले सुझाए ।

‘देशभरी रहेका बन्दीलाई एउटै कारागारमा राख्नुपर्छ,’ उनले अगाडि भने, ‘अपांगता भएकालाई छुट्टै भवनमा राख्दा आफूलाई सहज महसुस गर्न सक्छन् । विभिन्न जिल्लामा रहेका कैदीबन्दीलाई एकै ठाउँमा राख्नुपर्छ ।’