डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना, पत्रकार पाण्डेको ज्यान गयो

  • प्रकाशित मिति : २०७७ असार १४, आईतवार
  • नेपाल टेल संवाददाता

बुटवल । कार दुर्घटनामा परी रुपन्देहीमा एक पत्रकारको ज्यान गएको छ। आफैँले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटा हुँदा तिलोत्तमा–६ निवासी पत्रकार कृष्ण पाण्डेको ज्यान गएको हो।

बुटवलबाट घर जाँदै गरेका पाण्डेको गएराति पौने १२ बजेतिर बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलस्थित सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना भएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ।



दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका उनलाई बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारका लागि लगिएको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ।

उनी कारमा एक्लै सवार रहेका थिए। कार तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पत्रकारितामा आउनुअघि पाण्डे म्युजिक भिडियोमा अभिनय र संगीत कर्ममा सक्रिय थिए।