सिन्धुपाल्चोक । जुगल गाउँपालिका– २ मा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव भेटिएको हो ।
मृत्यु हुनेमा नौ बालबालिकासहित चार महिला र बाँकी पुरुष रहेका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रिमेश दोङ, १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ रहेका छन् ।
मृतकहरुको बौद्ध परम्पराअनुसार सामूहिक रुपमा अन्येष्टि गरिएको छ ।
शुक्रबारकाे पहिराेमा पुरिएर ३८ जना बेपत्ता भएकाे गाउँपालिकाले जनाएकाे थियाे । अन्यकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
पहिराेमा परेर घाइते भएका ६ जना मध्ये ५ जनकाे जिल्ला अस्पताल चाैतारा र एक जनाकाे काठमाडाैंमा उपचार भइरहेकाे जनाइएकाे छ ।