निर्वाचन आयोगले दर्ता गर्‍यो ‘नेकपा एमाले’

  • प्रकाशित मिति : २०७७ भाद्र ३, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा नेकपा एमाले दल दर्ताका लागि आवेदन परेको थियो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो ।



पार्टीमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड समूहबीच विवाद उग्र भएको बेलामा नेकपा एमाले दर्ता भएको थियो जसका कारण नेकपामा हलचल भएकाे थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोप प्रचण्डसहितका नेताहरुले लगाएका थिए ।

निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो ।

कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको एक आयुक्तले बताए । उनका अनुसार नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ ।