निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँमा चहलपहल, आज बिजोर नम्बरका सवारीसाधन सञ्चालन

  • प्रकाशित मिति : २०७७ भाद्र २५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। काठमाडौँ उपत्यकामा गत भदौ ३ गते मध्यरातिदेखि जारी निषेधाज्ञा आजदेखि खुकुलो भएसँगै चहलपहल बढेको छ ।

जोरबिजोर प्रणाली लागू भएसँगै आज भदौ २५ गते बिहीबार बिजोर नम्बरका सवारीसाधन सञ्चालनमा आएका छन् । यसअघि बुधबारबारसम्म अत्यावश्यक बाहेकका सवारीसाधन मात्र चल्दा फाट्टफुट्ट मात्र सवारी साधन देखिएका सडकमा आज सवारी साधनको चाप बढेको देखिएको छ ।



जोरबिजोरको नियम विपरित चलेका सवारीसाधनलाई सुरक्षाकर्मीले ठाउँठाउँमा रोकेका छन् । आजैदेखि १६ सिटभन्दा माथिको सार्वजनिक सवारीसाधन पनि सञ्चालनमा आएका छन् । चालकसहित ३ जनासम्म चलाउन पाइने आदेश जारी भएपछि आजदेखि निर्वाधरूपमा ट्याक्सी सञ्चालनमा आएका छन् ।

आदेशअनुसार तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रशासन कार्यालयहरूले बुधबार जारी गरेको आदेशमा फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म खुला गर्न दिने निर्णय भएपछि त्यस्ता पसलहरू बिहानैदेखि खुलेका छन् ।

यस्ता पसलहरू बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेश गरिएको छ । प्रशासनले यी निर्णयहरु भदौ ३१ गते मध्यरातिसम्म लागू हुने पनि जनाएको छ ।

यीबाहेकका पसल तथा व्यवसाय भने बिहीबार बाहेकका विभिन्न दिनमा खोल्न पाइने गरी तोकिएको छ ।