हाल देखिएका कोरोनाभाइरस सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकाका हुन थालेपछि सरकारले उपत्यकाका सबै सरकारी अस्पतालहरूलाई कोभिड-१९ अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो सँगै उपत्यकामा आइसोलेशन शय्याहरू, केही मात्रामा आईसीयू र भेन्टिलेटरको सुविधा थप हुने अधिकारीहरूको भनाइ छ। सरकारी अस्पतालहरूका साथै मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई कोभिड-१९ का लक्षणसहितका बिरामी उपचार गर्ने अस्पताल बनाइएको मन्त्रालयले जनाएको छ।
उपत्यकामा सङ्क्रमण बढिरहेका बेला यो निर्णयले सङ्क्रमितको उपचारलाई केही सहज बनाउने मन्त्रालयका अधिकारीहरूको दाबी छ। जनस्वास्थ्यविद्हरूले चाहिँ शय्या थपिएर मात्र सङ्क्रमितले उपचार पाउँछन् भन्ने नभएको भन्दै आशंका व्यक्त गरेका छन्। उनीहरूका भनाइमा सघन उपचार सेवा प्रदान गर्न आवश्यक पर्ने दक्ष जनशक्तिको पनि अभाव रहेको छ। सरकारले त्यसतर्फ ध्यान दिएको छैन।
अब कति पुग्यो अस्पताल र आइसोलेशनको सङ्ख्या ?
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार उपत्यकाभित्र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र सहित २१ वटा सरकारी अस्पतालहरू रहेका छन्। त्यसमध्ये आइतवारको निर्णयपछि पहिले उपत्यकाका ११ वटा सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइएको थियो।
अब २१ वटै अस्पताल कोभिड अस्पतालमा रुपान्तरित हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले मङ्गलवार दिउँसो दिएको जानकारीअनुसार नयाँ निर्णयसँगै उपत्यकामा थप आइसोलशेन, आइसीयू र भेन्टिलेटरको व्यवस्था भएको छ।
मङ्गलवार मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार उपत्यकाभित्र रहेका ट्रमा सेन्टर, मानसिक रोग अस्पताल र नरदेवी आयुर्वेदिक अस्पतालबाहेक सबै सरकारी अस्पतालले कोभिडको उपचारका लागि शय्याहरू छुट्याएका छन्।
योसँगै हाल उपत्यकाभित्र सरकारी अस्पतालहरूमा कुल १,५०८ वटा आइसोलेशन शय्याहरू रहेका छन्। मन्त्रालयको विवरण अनुसार अब उपत्यकाका सरकारी अस्पतालहरूमा कोभिडका बिरामीका लागि उपलब्ध आईसीयूको सङ्ख्या २२५ वटा र भेन्टिलेटरको सङ्ख्या १२० वटा पुगेको छ।
त्यसबाहेक भक्तपुरको खरिपाटीसस्थित आइसोलेशन केन्द्रमा चीनमा कोरोनाभाइरस फैलिएका बेला त्यहाँबाट नेपाली विद्यार्थी पर्काउँदा बनाइएको २०० शय्याको आइसोलेशन केन्द्र रहेको छ। मन्त्रालयले थप भेन्टिलेटर र आईसीयूको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्ने जनाएको भए पनि विभागसँग हाल त्यस्ता उपकरणहरूको खासै मौज्दात नरहेको खबरहरू आएका छन्। बीबीसी