बहुमत सचिवालय सदस्यले बैठकको मिति तोक्न गरेको माग ओलीद्वारा अस्वीकार

  • प्रकाशित मिति : २०७७ कार्तिक २२, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सत्तारुढ दल (नेकपा)का बहुमत सचिवालय सदस्यले शनिवार प्रधानन्त्री केपी शर्मा ओलीलाई भेटेर औपचारिक बैठक बोलाउन माग गरेका छन्।

तर, प्रधानमन्त्री ओलीले उक्त माग अस्वीकार गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।



कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँचजना सचिवालय सदस्यले आज बालुवाटारमै पुगेर संयुक्त रूपमा बैठकको माग गर्दै लिखित पत्र बुझाएपछि नेताहरूबीच छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले तत्काल बैठकको मिति तोक्न अस्वीकार गरेको नेकपा प्रवक्ता श्रेष्ठले जानकारी दिए।

पार्टीभित्रको विवादका सम्बन्धमा यसअघि अध्यक्ष दाहालले शुक्रबार पार्टी कार्यालयमा बैठक बोलाएका थिए।

उक्त बैठकले प्रधानमन्त्री ओलीलाई विवाद समाधानका लागि सामूहिक पत्र बुझाउने निर्णय गरेको थियो।

यसअघि दुई अध्यक्षबीचको छलफलमा औपचारिक बैठक बस्न प्रचण्डले प्रस्ताव गरेको तर प्रधानमन्त्रीले नमानेको बताइएको छ।

प्रचण्डलाई प्रधानमन्त्री ओलीले बैठक बोलाए त्यसलाई पार्टी फुटको घोषणाका रुपमा लिने बताएका थिए।