गोली प्रहार गरी रौतहटमा १८ वर्षीया युवतीको हत्या

  • प्रकाशित मिति : २०७७ कार्तिक २७, बिहीबार
  • नेपाल टेल संवाददाता

गौर । रौतहटमा १८ वर्षकी एक युवतीको गोली हानी हत्या गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहाका रामअयोध्या साहकी १८ वर्षीया छोरी अमृता साहको बुधबार राति सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अमृताको दायाँ कञ्चटमा गोली प्रहार गरिएको छ । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।



घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आमा सितादेवी साह घरको ढोका खोलेर बाहिर रहेका शौचालयतर्फ गएको मौका छोपेर अज्ञात व्यक्तिले घरभित्र छिरेर गोली प्रहार गरी अमृताको हत्या गरेका हुन् ।

गोलीको आवाज सुनेपछि भागेर शौचालयबाट आएकी सीताले छोरी अमृतालाई छट्पटाइरहेको अवस्थामा फेला पारेकी थिइन् । उपचारका लागि अस्पताल लैजान गुहार माग्न नपाउँदै उनको मृत्यु भएको आमा सीतादेवीले प्रहरीलाई बयान दिएकी छन् ।

प्रहरीले घटनाको अनुसन्धान शुरु गरिसकेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा युवतीको प्रेम प्रसंगका कारण हत्या भएको हुनसक्ने देखिएको छ ।

गोली हानी हत्या गरिएकी अमृताको २५ फागुन २०७५ मा सर्लाहीको विष्णुपुर गाउँपालिका मधुवनगोठका सोहन भनिने रुपेश साहसँग मागी विवाह भएको थियो । तर, वैवाहिक सम्बन्धमा शंकट उत्पन्न भएपछि दुवैले गत साउनमा सम्बन्ध विच्छेद गरेका थिए ।

गत वैशाखमा अमृतका पति रुपेशमाथि चक्कु प्रहार थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनी ३ महिनासम्मको उपचारपछि साउनमा निको भएका थिए । त्यसपछि २५ साउन २०७७ मा अमृता र रुपेशबीच जिल्ला अदालत सर्लाहीमा सम्बन्ध विच्छेद भएको थियो ।

सम्बन्ध विच्छेदपछि अमृता माइतीमा नै बस्दै आएकी थिइन् ।

तस्वीर– गोली प्रहार गरी हत्या गरिएकी १८ वर्षीया अमृता साह