शुक्रबार धनतेरस, यी बस्तु किन्दा धन बढ्ने विश्वास

  • प्रकाशित मिति : २०७७ कार्तिक २७, बिहीबार
  • nepaltale.com

काठमाडौं। कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन मनाईने पर्व हो, ‘धनतेरस’ । यस दिनलाई धनवन्तरी तथा धन त्रयोदशी पनि भन्ने गरिन्छ । धनवन्तरिको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभदिन मान्ने गरिन्छ । यस वर्षको धनतेरस कार्तिक २८ गते शुक्रबार परेको छ ।

काग तिहारको दिन पर्ने धनतेरस अर्थात धनवन्तरी त्रयोदशी लक्ष्मीका प्रीय भाडाहरु किनेर मनाउने चलन रहेको पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । उनका अनुसार यसदिन किनेका वा घरमा भित्र्याएका भाडामा लाक्ष्मीले बास गर्ने धार्मिक मान्यता रहि आएको छ । लक्ष्मीले बास गरेमा धनको कमी नहुँने धार्मिक शास्त्रहरुमा उल्लेख रहेको छ । यस दिन विशेष गरि पूजाका सामानहरु किन्दा राम्रो हुने अध्यक्ष गौतमको भनाई छ । तामा, सुन, चाँदी, हिरा आदिबाट बनेका भाडाहरु लक्ष्मीका प्रीय भाडा हुन् । ती धातुबाट बनेका भाडाहरु धनवन्तरीका दिन किनेर ल्याउँदा ती भाडामा लक्ष्मीले बास गर्ने र धन सम्पत्तीको अभाव नहुने मान्यता रहँदै आएको छ ।

भारतमा धुमधामका साथ मनाउने यस पर्व पछिल्लो समय नेपालमा पनि मनाउन थालिएको छ । हिजोआज मोटरसाइकल, मोबाइल, कम्प्युटर, साइकल जस्ता बस्तु खरिद गर्न पनि यसै दिनलाई पर्खने चलन छ । यस पर्वमा सबैले आ–आफ्नो क्षमताअनुसार केही न केही बस्तु किन्ने गरेका छन् ।