काठमाडौं । मदिरा सेवन गरेका बाबुले चक्कु प्रहार गर्दा रुपन्देहीको तिलोत्तमामा छोराको मृत्यु भएको छ ।
तोलत्तमा नगरपालिका–१९ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहार गर्दा उनका १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ मृत्यु भएको हो ।
चक्कु प्रहार गरी छोराको हत्या गर्ने शेरबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शेरबहादुरलाई शनिबार राति नै नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार शनिबार साँझ मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । छोरा पदमबहादुरले आमामाथि गालीगलौज नगर्न आग्रह गर्दा शेरबहादुरले चक्कु प्रहार गरेका थिए ।
बाबु शेरबहादुरले चक्कु प्रहार प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतितसिंह राठौरले जानकारी दिए ।
पक्राउ परेका शेरबहादुरमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको डीएसपी राठौरले बताए ।