काठमाडौं । शनिबार साँझ देशभर लक्ष्मी पूजा मनाइएको छ।
लक्ष्मी पुजा मनाउने क्रममा बालिएको दियोका कारण देशका विभिन्न ठाँउमा आगलागीका घटना भएका छन्।
भक्तपुर, धादिङ, पर्सा, सप्तरी, झापा, सर्लाही लगायतका जिल्लामा आगलागीका घटना भएका हुन। आगलागीबाट लाखौको क्षति भएको छ।
पर्साको वीरगन्जमा घरमा बालिएको दियोबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बहुदरमाई नगरपालिका – ८ की १५ वर्षिया मनाकुमारी साह छन्।
लक्ष्मीको पुजाको दियोबाट घरमा आगलागी हुँदा सुतिरहेकी उनको मृत्यु भएको छ। घरका अन्य सदस्य भने ज्यान जोगाउन सफल भएका छन्।
आगलागीबाट फुसको घरमा रहेका लत्ताकपडा, खाद्यान्नलगायतका सामग्रीहरु जलेर करिब ५ लाख बराबरको क्षति भएको छ।
यस्तै, भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ मा कञ्चन सहनीको मोटर वर्कशपमा आगलागी हुँदा दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। सहनीले लक्ष्मी पूजा गर्दा बालेको दियोबाट आगलागी सुरु भएको भक्तपुर प्रहरीले जनाएको छ।
त्यसैगरी धादिङको धुनबेसी नगरपालिका ४ को जीवनपुरमा फेन्सी पसलमा लक्ष्मी पूजा गर्दा बालेको दियोबाट आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
त्यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका ६ मा पनि लक्ष्मी पूजा गर्ने क्रममा मिठाई र साइकल पसलमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ।
त्यस्तै झापाको बिर्तामोडमा वर्कशपमा आगो लाग्दा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सर्लाही सदरमुकाम मलङ्गवामा सिलाई पसलमा लक्ष्मी पूजा गर्ने क्रममा दियोबाट आगो सल्किँदा एक लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ।