पाँचथर। अनुत्तरदायी राज्यसंयन्त्र, हाेम अाइसाेलेसन र अनुशासनहीन अटेरी नागरिकका कारण संक्रमितकाे संख्या दिनदिनै बढ्दाे छ ।
पाँचथरमा सक्रिय संक्रमितकाे संख्या ५० नाघेकाे छ । पछिल्लाे पटक स्वाव संकलन भएकाे ७ दिनपछिमात्र ११ जनाकाे पाेजिटिभ रिपाेर्ट आएकाे छ । स्वाव दिएर रिपाेर्ट आउन बाँकी, संक्रमित र संक्रमितका परिवार सार्वजनिक ठाउँमा भेटिने स्थितिले राम्राे संकेत गरिरहेकाे छैन ।
स्वाब दिएका ब्यक्तिले पनि बजार पसल खाेलेर मज्जाले व्यापार गरिरहेकाे पनि पाइयाे । स्वाव दिंदैमा केही नहुने हाे र ? आफु सम्भावित संक्रमित वा संक्रमित नै भएर पनि आफ्नो र अरुकाे स्वास्थ्यलाई ख्यालै नगरी सार्वजनिक र भिडभाड ठाउँमा घुमफिर गर्नुले सम्भावित संकट नजिक्याउँदैछ । यस्ताे बेला हाेम अाइसाेलेसनमा बस्न सार्वजनिक सूचना र स्व-अनुशासनका अादर्श कुरालेमात्र थाम्ने देखिंदैन । सरकारी संयन्त्रबाट अनुगमन, निर्देशन र फलाेअप शून्यझैं देखिएकाे छ । संक्रमितकाे उपचारकाे व्यवस्थापनबारे जिल्लामा खासै ध्यान दिएकाे देखिएन । संक्रमणका विरामी बढ्दै जाँदा पहिले अावश्यक पर्ने अक्सिजनकाे उपलब्धता गराउनेतर्फ नै ध्यान गएकाे छैन । स्थानीय सरकार र स्थानीय प्रशासनले लकडाउन घाेषणा गरेर अस्पताल, अक्सिजन, स्वास्थ्यकर्मीलगायतकाे व्यवस्थापन र अन्य तयारीमा वेवास्ता गर्नुले नजिकिएकाे संकटबाट दु:खद् स्थितिकाे निम्ताे गरिरहेकाे भान भएकाे छ ।
लकडाउन र अन्य समयकाे खासै फरक अनुभूति पाउन सकिएकाे छैन । हाम्रा धेरै काम परिणाममुखीभन्दा पनि अाैपचारिकता र देखावटी सावित भइरहेका छन् । निर्णय भएर पनि महिनाैंसम्म पिसिअार मेसिन, ICU र भेण्टिलेटर जडान हुन ढिलाइ हुनुले संक्रमणलाई हेर्ने सरकारी प्राथमिकतामा अाशंका गर्न सकिन्छ । राज्य संयन्त्रले जनउत्तरदायी भएर जनमुखी ढंगले याेजनाबध्द काम नगरेसम्म एवं नागरिक जिम्मेवार र अनुशासित नभएसम्म याे संकट अझ गहिरिंदै जाने निश्चित छ ।
(लवदेब ढुंगानाको फेस्बुक वालबाट)