काठमाडौं । चिसोबाट जोगिन हिटर र कोइला बालेर सुतेका सुत्केरीसहित एक महिनाको शिशुको मृत्यु भएको छ ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीमा बिहीबार बिहान एक परिवारका तीन सदस्यमध्ये महिना दिनकी सुत्केरीसहित दुई जनाको मृत्यु भएको छ भने एक पुरुष घाइते अवस्थामा फेला परेका छन् ।
सुत्केरीलाई चिसोबाट जोगाउन राति हिटर र कोइला एकैसाथ बालेर सुतेका कारण अक्सिजनको अभावमा उनीहरूको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले सिन्धुपाल्चोक जुुगल गाउँपालिका घर भई हाल सोही स्थानमा किराना पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दोर्जे शेर्पाकी सुत्केरी श्रीमती २७ वर्षीया पेम्बी शेर्पा र एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको जानकारी दिए ।
त्यस्तै अचेत अवस्थामा फेला परेका शेर्पालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
बिहीबार बिहान उज्यालो भइसक्दा पनि शेर्पा परिवार नउठेपछि स्थानीयले कोठाको ढोका खोली हेर्दा हिटर बलिरहेको अवस्थामा फेला परेको थियो भने कोइला बालेको फलामको तावासँगै रहेको थियो । वृत्त प्रमुख कार्कीले भने, ‘‘सामान्य लापरबाही गर्दा आमाछोरीको अकालमै ज्यान गयो ।’’
घरकोठा तथा फ्ल्याट न्यानो पार्न यस्तै आगो तथा न्यानो पार्ने सामग्रीको प्रयोग गर्दा अक्सिजनको अभावमा परिवार नै सखाप भएको उदाहरण धेरै रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरको भनाइ छ । स्वयम् प्रयोगकर्ताको सामान्य लापरबाहीका कारण यस्ता घटना बारम्बार दोहोरिने गर्छन् ।
प्रहरीले हिटर, गिजर, कोइला र ब्रिकेट बालेर ढोका बन्द गरी नसुत्न नागरिकलाई आग्रह गरेको छ । धुवाँ र तातोले कोठाभित्र अक्सिजनको अभावमा निसास्सिएर सुत्केरी महिला, बालबालिका र वृद्धालाई मात्र नभई युवाको समेत ज्यान जाने गरेको छ । राति र दिउँसो ग्यास गिजर, हिटर, कोइला तथा ब्रिकेटलगायत तातो वस्तु बालेर नसुत्न र कोठा बन्द गरी नराख्न प्रहरीले आग्रह गरेको छ ।