नारायणकाजीलाई अनावश्यक मुछेर झुटो प्रचार गरियो : इन्द्रमाया (वक्तव्य)

  • प्रकाशित मिति : २०७७ मंसिर २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा विवादमा तान्न खोजिएको भन्दै स्व.कमान सिंह लामाकी श्रीमती इन्द्रमाया तामाङले वक्तव्य जारी गरेकी छन्।

इन्द्रामायाले आफ्नो वक्तव्यमा नेता श्रेष्ठ निर्दोष रहेको र उनलाई अनावश्यक लान्छना लगाइएको उल्लेख गरेकी छन्।



पूर्व राजदूत तथा नेकपाका केन्द्रीय सदस्य समेत रहेका स्वर्गिय लामाको परिवारको आर्थिक विवादमा मध्यस्तकर्ता गर्दै गरेको भिडियो सार्वजनिक भएपछि नेता श्रेष्ठ विवादमा परेका थिए।

इन्द्रमायाले उक्त भिडियो क्लिपलाई लिएर अनावश्यक भ्रम छरेर मिडियामा अनर्गल झुटो प्रचार गरिएकोमा आफू दुःखी रहेको बताएकी छन्।

तामाङले यस विषयको घोर निन्दा गर्दै आफ्नो आर्थिक विषयमा श्रेष्ठको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन्।

विज्ञप्तिमा लामाका श्रीमान् श्रीमतीले सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाउँपालिका–५ अन्तर्गत श्री याम्बालिङ हाइड्रोपावर लिमिटेडको कम्पनी दुवै जनाको नामबाट सञ्चालन गरेको तर, विगत १० वर्षमा ठूलो लगानी गर्दा पनि सञ्चालन गर्न नसकेको बताइएको छ।

यस्तो छ इन्द्रमायाको वक्तव्यको पूर्णपाठ

मेरो श्रीमान एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वसांसद कमरेड कमानसिंह लामाको असामयिक निधनले म र मेरो परिवार अत्यन्त शोकको अवस्थामा छौं। यही बेला म र कमरेड लामाबीच भएका केही विवाद र असमझदारीबाट विगतमा सृजित केही घटनाहरुमा हाम्रो पार्टीका नेता एवं प्रवक्ता आदरणीय कमरेड नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर मिडियामा अनर्गल झुटो प्रचार गरिएकोमा म अत्यन्त दुःखी छु। घटनाबारे सत्य तथ्य म प्रस्तुत गर्दछु: विगत २२–२३ बर्षसम्मको हाम्रो वैवाहिक सम्बन्धमा खासै ठूलो अन्तरबिरोध र बैमनस्यता कहिल्यै भएन। घर ब्यवहार र राजनीतिक जीवनमा दुवै जनाले आ–आफ्नो जिम्मेवारी सम्हाल्ने क्रममा एक अर्काको साथ सहयोग रहेकै थियो। हामी दुवै जनाको सधैं ब्यक्तिगत लाभ र सम्पत्ति जोड्ने भन्दा पार्टी र राजनीतिक जीवन प्राथमिकतामै रह्यो। उहाँ पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहँदा मेरो साथ र सहयोग रहिरह्यो। र, म पनि पार्टी र जनवर्गीय संगठनको केन्द्रीय जिम्मेवारीमा रहँदा उहाँको सहयोग पाइरहेँ।

यसैक्रममा सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाउँपालिका–५ अन्तर्गत श्री याम्बलिङ हाइड्रोपावर प्रा.लि. हामी दुवै जनाको नाममा संचालन गर्नेगरी नेपाल सरकारबाट अनुमति प्राप्त गर्यौं। सो हाइड्रो संचालनका लागि विगत १० बर्षदेखि हाम्रो चलअचल सम्पत्ति, आफन्त इष्टमित्र, पार्टीका साथीहरुको समेत ऋण धन लिएर संचालन गर्ने प्रयत्न गर्यौं। तर न हामीले हाइड्रो संचालन गर्न सफल भयौं, न त साथीभाइको ऋण नै चुक्ता गर्न सक्यौं।

त्यहीबेला नेपाल विद्युत प्राधिकरणले हाम्रो अनुमतिपत्र खारेज गर्ने प्रक्रिया थालेपछि पार्टीका साथी र हाइड्रोको समेत अनुभव प्राप्त गर्नुभ्एको नाताले सुसन कर्माचार्य र अन्य साथीहरुलाई हामीले तपाईहरु पनि संलग्न भएर संस्था बचाइदिनुस् भनेर पटक–पटक अनुरोध गर्यौं। सोही बमोजिम हामी दुवै जनाको सहमतिमा हाम्रो केही सेयर रहनेगरी सबै आर्थिक र कानुनी प्रक्रिया पुर्याएर हस्तान्तरण गर्यौं।

तत्कालीन अवस्थामा मेरो सेयर धेरै थियो र मेरा पति कमरेड लामाको सेयर थोरै थियो। अन्य ब्यक्तिको सेयर पनि थियो। हामीले संचालन गर्न नसक्दा साथीभाइको ऋणले हाम्रो आर्थिक अवस्था टाट पल्टिने र हाम्रो राजनीतिक र सामाजिक जीवन समेत सिद्धिने अवस्थामा पुगेको बेला सुसन कर्माचार्य लगायतका साथीहरुको कम्पनीले हाम्रो उद्धार नै गर्यौं।

सो क्रममा सुरुकै अवस्थामा हाम्रो राजनीतिक अभिभावक भएकाले हामीमा परेको समस्या कमरेड नारायणकाजी श्रेष्ठलाई पनि हामीले नै जानकारी गराएका थियौं। त्यसक्रममा उहाँले हामीलाई आर्थिक पारदर्शीता र अनुशासनको बारेमा सम्झाउनु भएकै हो। तर त्यही कुरालाई जोडेर उहाँको राजनीतिक निष्ठापूर्ण जीवनलाई बदनाम गर्ने निहीत स्वार्थपूर्ति गर्ने केही ब्यक्ति वा संस्थाहरु लागिरहेकोमा म घोर भत्सर्ना गर्दछु। उहाँ हाम्रो यो आर्थिक बिषयमा न हिजो संलग्न हुनुहुन्थ्यो, न आज संलग्न हुुनुहुन्छ। जहाँसम्म हामी दुई जना (श्रीमान श्रीमती) बीचको असमझदारीको कुरा छ, त्यसको एकमात्र कारण श्रीमान(कमानसिंह लामा)को भन्दा हाइड्रोपावर कम्पनीको सेयर संख्या मेरो बढी हुुनु नै हो।

जसका कारण कानुनी प्रक्रिया पूरा गरिसकेपछि पनि मेरो श्रीमानले पटक पटक मलाई पैसाको लागि विभिन्न बहाना बनाई तनाव दिने, उहाँले भनेजति रकम नदिए कुट्ने, पिट्ने र मानसिक यातना दिनेदेखि विभिन्न लान्छना लगाउने काम समेत गर्नुभयो। बिरामी अवस्थामा मानसिक यातना दिने क्रम रोकिएन। तर पनि म बाट उहाँप्रति मेरो दायित्व पूरा गर्ने कुरामा कुनै कसर बाँकी राखेको छैन।

मलाई जति दुःख र पीडा अरु कसलाई हुनसक्छ? मेरो श्रीमान जसलाई बचाउन सकिएन, यस्तो पीडाको अवस्थामा पनि केही तत्वहरुले म, मेरो परिवार र राजनीतिक नेतृत्वसँग खेलवाडको बिषय बनाइरहेको देख्दा दुःख लागेको छ। यो दुःखद अवस्थामा म र मेरो परिवारलाई सहानुभूति दिने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु।

इन्द्रमाया तामाङ