काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ ।
आज बिहान काठमाडौंको तापक्रम दुई डिग्री मापन गरिएको छ । मौसमविद् सजिना शाक्यका अनुसार यो वर्षको सबैभन्दा न्यूनतम तापक्रम मापन आजै गरिएको छ ।
पछिल्ला केही दिन लगातार तापक्रम घट्ने क्रम जारी रहेको छ । उनका अनुसार बिहान पौने सातबजे मापन गरिएको तापक्रममा अहिले केहीबेरपछि घटबड हुन पनि सक्नेछ ।
कस्तो होला मौसम
स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन । हाल नेपालको पश्चिमी तराई भूभागका अधिकांश स्थानमा बाक्लो हुस्सु–कुहिरो र वाँकी तराई भू–भागका एक–दुई स्थानमा हल्का हुस्सु–कुहिरो लागेको छ ।
शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । देशका अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने मौसमविदले बताएका छन् ।
यस्तै राति प्रदेश १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।