काठमाडौं ।पार्टी विवाद उत्कर्षमा पुगेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड माधव नेपाल पक्षले जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएको छ ।
उक्त समूहल पहिलो दिन आज प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरुलाई काठमाडौंमा बोलाएको हो ।
आज पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलामा केपी ओली इतर समूहका अध्यक्ष र सचिवहरु सहभागी हुने र उनीहरुलाई पार्टीभित्रको पछिल्लो अवस्थाबारे शीर्ष नेताले जानकारी गराउने एक केन्द्रीय सदस्यले बताए ।
प्रचण्ड नेपाल समूहले यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत गरिसकेको छ ।
पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् ।
प्रचण्ड–माधव नेपाल पक्षले विद्यार्थीको भेला समेत बिभिन्न प्रदेशमा गरिसकेको छ ।
अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीले आनाकानी गरिरहेको भन्दै ती नेताले आजको बैठकमा यसबारेमा सचिवालयका नेताहरुले आफ्नो पक्षको धारणा राख्ने ती नेताले बताए ।
काठमाडौंमा आएका जिल्ला अध्यक्ष र सचिवहरुलाईै आफ्नो पक्षको रणनीतिबारे निर्देशन दिएर जिल्ला जिल्ला पठाउने तयारी प्रचण्ड पक्षको छ ।
प्रचण्ड-माधव नेपाल पक्षले सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भेला क्रमशः काठमाडौं गर्ने छ ।
पार्टीमा पछिल्ला दिनमा बढ्दै गएको ध्रुवीकरण र संकट समाधानका गर्न आगामी दिनका लागि रणनीति तय गर्न भेलाको आयोजना गरिएको नेताहरुले बताएका छन् ।
संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक ल्याएको अध्यादेशसँगै नेकपा विवाद थप चर्किएको छ ।