संसदीय दलको नेता बनेपछि प्रचण्डले भने- प्रतिनिधि सभा पुनर्स्थपना गरेर सरकार बनाउँछौं

  • प्रकाशित मिति : २०७७ पुष ८, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने बताएका छन्।

बानेश्वरमा बुधबार दिउँसो बसेको उक्त समूहको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो ।



सर्वसम्मत रूपमा दलको नेता चुनिएपछि प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिवद्धता छ ‘अरु संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं’ उनले भने ।

प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरु नै वैधानिक र ठूलो दल भएको बताए । ‘संसदीय दलमा पनि ११५ अहिले नै सहभागी हुनुहुन्छ र अरु केही सांसदहरुले हस्ताक्षर गर्ने वचन दिनुभएको छ त्यसकारण संसदीय दलमा पनि हामी नै वैधानिक छौँ’ उनले भने, ‘सबैभन्दा ठूलो दल यसले पनि पुष्टि गर्छ ।’

प्रचण्ड(नेपाल समूहको संसदीय दलको बैठकमा ११७ जना सांसद उपस्थित थिए। सांसद वेदुराम भुसालका अनुसार राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९३ जना सांसद आजको बैठकमा सहभागी थिए । नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। प्रचण्ड(नेपाल समूहले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको छ ।