प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव नेपालले दाबी गर्न मिल्दैन : ओली

  • प्रकाशित मिति : २०७७ पुष ९, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरुपमा नेकपा विभाजन भएको स्वीकार गरेका छन् ।

उनले एकीकरण सफल नभएको स्वीकार्दै बुधबार राति एक टेलिभिजन अन्तर्वार्तामा भने ‘प्रचण्डजी र मैले एकता गरेका थियौँ, दुई वटा पार्टी मिलाएर लैजाने भनेका थियौँ, प्रचण्डजी र म मिलेनौँ ।’



केन्द्रमा प्रचण्ड–माधव समूहको सङ्ख्या केही धेरै जस्तो देखिए पनि ग्राउण्डमा केही नभएको ओलीले बताएका छन् ।

उनले आफ्नो पक्षसँग ग्राउण्डमा विशाल जनाधार रहेको दाबी गरे । ‘उहाँले ९९ मा पुगेको ठान्नु भो र १०० मा पुगेको भनेर यस्तो हतार गर्नुभयो । तर, लुडो खेलेजस्तो दुईमा झर्नुभयो’, ओलीले भने, ‘म धेरै बहस गर्न चाहन्न उहाँहरु चुनावमा जान यति घबराउनु भएको किन ? यति आत्तिनु भएको किन ? चुनाव हुनुहुँदैन भनेर किन भन्नुभयो ? जनतासँग यस्तो त्रास किन ? किनभने दुईमा झर्ने उहाँहरुले देख्नुभएको छ ।’ उनले थपे, ‘माथि उहाँहरुको संख्या होला तल ग्राउण्डमा छैन । मसँग सोली घोप्ट्याएजस्तो छ, टुप्पामा थोरै तल विशाल । हेर्नुहोला नेपाली जनताले कसरी फैसला गर्छन् ।’

उनले पूर्वएमालेको पार्टी कार्यालयमा अहिले फुटेर गएका प्रचण्डले त के माधव नेपालले पनि दावी गर्न नमिल्ने बताए । ‘उहाँ (प्रचण्ड) ले आफ्नो पार्टी लिएर जानुभयो त्यसमा अर्को पार्टीका हिजोका केही साथीहरु लाग्नुभयो होला । मैले पनि आफ्न पार्टी लिएर जाने हो । हिजोका प्रचण्डजीका केही साथीहरु पनि मसँग होला । तर विभाजन भएको माधव नेपाल र मेरो होइन । झलनाथ खनाल र मेरो होइन । विभाजन भएको प्रचण्डजीसँग हो’, उनले भने ।

‘प्रचण्डजीले उहाँहरुको पार्टी कार्यालयको सम्पत्ति लिएर जानुहुन्छ’, ओलीले भने, ‘पेरिसडाँडाको सम्पत्तिको हकदावी म गर्दिनँ ।’ प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव नेपालले दाबी गर्न नमिल्ने उनको तर्क थियो । ‘उहाँ प्रचण्डकीको सेकेण्डमेन भएर हिड्नुभएको छ नि त । प्रचण्डजीको कार्यकर्ताले प्रचण्डजीकै त्यही श्रीसम्पत्तिमा रमाउन सिक्नुपर्छ । त्यही नेतृत्वको मातहतमा रहन सिक्नुपर्यो नि’, ओलीले नेपाललाई भने ।