चीनमा ११९ सङ्क्रमित भेटिएपछि एक करोड १० लाख मानिस कडा लकडाउनमा

  • प्रकाशित मिति : २०७७ पुष २५, शनिबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। चीनको उत्तरी सहर सिजियाझुआङ्‌मा १२० जनामा कोरोनाभाइरस देखिएपछि एक करोड १० लाख मानिसलाई कडा लकडाउनमा राखिएको छ।

त्यहाँका बासिन्दाहरूलाई सहर छोड्न प्रतिबन्ध लगाइएको छ र विद्यालयहरू बन्द गरिएको छ।



सबै नागरिकलाई परीक्षण गर्न ५,००० भन्दा बढी परीक्षण स्थलहरू खडा गरिएको छ।

यो सङ्क्रमण सङ्ख्या चीनमा पाँच महिनायता सबैभन्दा बढी हो।

उक्त सहर रहेको हेवेई प्रान्तमा बिहवार १२० जनामा सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये ११९ जना सो सहरका थिए।

चीनमा बिहीवार अन्यत्र जम्मा २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

लकडाउन चिनियाँ नयाँ वर्षको केही साताअघि भएको छ। नयाँ वर्षको छुट्टीको समयमा चिनियाँहरू घुम्न निस्कने गर्छन्।

धेरै सङ्क्रमित भेटिएको गाओचेङ् क्षेत्रका मानिसहरूलाई स्थानीय बजारबाहेक अन्यत्र जान र अन्य सहरबासीलाई सहर छोड्न प्रतिबन्ध लगाइएको हो।

सिजियाझुआङ्‌का पाँच अस्पताललाई कोभिड-१९ को उपचारको लागि खाली गरिएको र अन्य तीनलाई तयारी अवस्थामा राखिएको बताइएको छ।