दिल्लीमा परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच ‘विशेष’ भेटवार्ता

  • प्रकाशित मिति : २०७७ माघ ३, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज (शनिबार) नयाँ दिल्लीमा भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्री ज्ञवालीलाई सिंहलाई भेट्न नयाँ दिल्लीको अकबर रोडस्थित रक्षामन्त्रीको निवास पुगेका थिए ।



भारतीय रक्षामन्त्री सिंहले माइक्रोब्लगिङ साइट ट्वीटरमार्फत परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता गरेको सार्वजनिक गरेका छन् ।

ज्ञवालीसँगको भेटलाई विशेष (अद्भुत) भनेका सिंहले भेटवार्तामा भएको कुराकानीका बारेमा भने केही उल्लेख गरेका छैनन् ।

‘नेपालसँगको भारतको सम्बन्ध सरकारमा मात्र सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत–नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’
https://twitter.com/rajnathsingh/status/1350304159774347264?s=19

बिहीबार भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री ज्ञवाली शुक्रबार नयाँ दिल्लीमा आयोजित नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए ।

संयुक्त आयोगको बैठकमा दुई मुलुकबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि, प्रबुद्ध व्यक्ति समूह (इपिजी)प्रतिवेदनको प्रस्तुतीकरण, हवाई प्रवेश मार्ग, कोभिड–१९ विरुद्धको खोप, सीमा तथा सिमाना व्यवस्थापन, सम्पर्क सञ्जाल र आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, शिक्षा तथा संस्कृतिसहित द्विपक्षीय सम्बन्धका समग्र पक्षको समीक्षा भएको जनाइएको छ ।

कोभिड–१९का कारण उत्पन्न चुनौतीको दुवै देशले निकट समन्वयमा रहेर सामना गरेकामा संयुक्त आयोगले सराहना गरेको तथा महामारीका बेला अत्यावश्यक औषधि र उपकरण भारतले उपलब्ध गराएकामा नेपालले नयाँदिल्लीप्रति आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।