‘जनताले कति दु:ख पाए हँ भनेर आफू गाडीमा तमासा हेर्न निस्किनु भो’

  • प्रकाशित मिति : २०७७ माघ २२, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकले दु:ख गरेर फलाएको तरकारी सडकमा फ्याकेको भन्दै प्रचण्ड-माधव समूहको आलोचना गरेका छन् ।

उनले जनतालाई दुख दिएर प्रचण्ड र माधव नेपाल गाडीमा सयर गर्दै तमासा हेरेको आरोपसमेत लगाए ।



आफैँले आह्वान गरेको बन्दमा गाडी र स्कुटर चढेको प्रति व्यंग्य गर्दै ओलीले बन्दमा जनताले कति दुःख पाए भनेर बाइक र गाडी चढेर हिँडेको आरोप लगाए।

किसान महासंघको कार्यक्रममा सम्वोधन गर्दै ओलीले भने, ‘बुढी आमाले डोकामा बोकेको टमाटर सडकभरि फ्याकेर उहाँहरुले क्रान्तिकारिता देखाउनुभो । अरुका गाडी जलाउनुभो । अनि जनताले कति दु:ख पाए हँ भनेर आफू गाडीमा तमासा हेर्न निस्किनु भो ।’

उनले अगाडि थपे, ‘एकजना गाडीमा हिँड्नुभा, अर्को चाहिँ गाडी नै त नचढौं, बाइकसम्म ठीक हुन्छ भनेर पछाडि बस्नुभयो ।’

ओलीले प्रचण्ड-माधव समूहसँग कार्यकर्ता सिद्धिएको टिप्पणी गरे । उनले भने, ‘कार्यकर्ता जति यता छन्, कहाँबाट उता होस ? गाडी रोक को उभिएको भनेर यसो हेर्दा त प्रचण्ड । कहाँ भन्दा फेरि सातदोबाटो । ठाउँमा पनि छानेकै हो । कार्यकर्ता सिद्धिएछन् उहाँहरुका । आफैं ‘हामी यहाँ छौं’ भन्दै यता टाँसो, उता टाँसो । हामी यहाँ छौं भन्ने त उहाँहरुको ब्रान्ड नै भयो । जसले हामी यहाँ छौं भनेर टाँसेका छन् त्यत्ति हुन् उहाँहरूका कार्यकर्ता ।’

किसान संघको भेलामा ओलीले माधव नेपालले किसानका समस्या समाधान गर्न नदिएको आरोप लगाए।

हालै सरकारले भूमि समस्या समाधान आयोग बनाएको भन्दै त्यो बनाउन नदिन नेता नेपालले भाँजो हालेको बताए।

उनले नेपालमा कृषि समस्या समाधान गर्नलाग्दा नेपालले बाधा हाले पनि उनी हटेलगत्तै आयोग बनाएको बताए।

उनले भने, ‘माधव नेपालले मेरो मान्छे, मेरा पक्षधर भनेर कामै गर्न दिएनन्।’

प्रचण्ड र नेपाललाई कहिल्यै हातमा हलो, कोदालो नसमाएको, धान कसरी रोपिन्छ, थाहै नभएको ओलीले व्यंग्य गरे।