माधव नेपाल र भीम रावलको स्पष्टीकरण कारबाहीयोग्य छ- ओली

  • प्रकाशित मिति : २०७७ चैत्र १३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल तथा नेता भीम रावलले पठाएको ‘स्पष्टीकरण’ चित्त बुझ्दो नभएको बताएका छन् ।

नेपाल र रावलको स्पष्टीकरण कारणबाही योग्य रहेको समेत ओलीले बताएका छन् ।



शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका ओलीले दुई नेता (नेपाल र रावल)ले पठाएको स्पष्टीकरण नकारात्मक रहेको बताए ।

चैत ७ गते बसेको एमाले (ओली पक्ष)का केन्द्रीय सदस्यको बैठकले वरिष्ठ नेता नेपाल तथा नेताहरु रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निणर्य गरेको थियो ।

नेपाल र रावलले स्पष्टीकरण बुझाइसकेका छन् भने भुसाल र पाण्डेले बुझाउन बाँकी छ ।

शुक्रबारको बैठकमा २ जना नेताबाट स्पष्टीकरण आएको जानकारी दिँदै ओलीले त्यो नकारात्मक र कारबाहीयोग्य भएको भनेका ओली पक्षीय सांसद विशाल भट्टराईले जानकारी दिए ।

‘२ जनाको स्पष्टीकरण आएको छ । त्यो स्पष्टीकरण नकारात्मक छ, कारबाहीको भागीदार छ । बाँकी २ जनाको सकारात्मक कोणबाट आउने अपेक्षा छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले सञ्चारकर्मीसँग भने ।