काठमाडौं । शुक्रबार निधन भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज (शनिबार) पार्टी कार्यालय सानेपामा राखिने भएको छ ।
दिउँसो १२ बजेदेखि २ बजेसम्म जोशीको पार्थिव शरीर सानेपास्थित पार्टी मुख्यालयमा राखिने कांग्रेसले जनाएको छ ।
त्यसअघि कांग्रेस केन्द्रीय समितिको आस्मिक बैठक पनि बस्दैछ । बैठकले जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोकका कार्यक्रम तय गर्ने कांग्रेसले जनाएको छ ।
नेता जोशीको काठमाडौंको नर्भिक अस्पतालमा शुक्रबार राति ८ बजेर २४ मिनेट जाँदा उपचारका क्रममा निधन भएको हो । फागुन १४ गते मस्तिष्कघात भएपछि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
जोशीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहितका नेताहरुले दुःख व्यक्त गर्दै जोशीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताएका छन् ।