काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरस (कोभिड १९)को संक्रमण दर बढ्नसक्ने बताएका छन् ।
स्वास्थ्य सुरक्षाका मापदण्डहरुको प्रभावकारी पालना गर्न नसकेमा आगामी जेठ र असार महिनामा फेरि संक्रमण उच्च विन्दुमा पुग्ने मन्त्री त्रिपाठीको भनाइ छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री त्रिपाठीले भारतमा पछिल्लो समय बढिरहेको संक्रमणलाई हेर्दा नेपालमा पनि आगामी जेठ र असार महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्ने आकलन गरिएको बताए ।
गत माघदेखि संक्रमित हुने दर बढेकोमा पछिल्लो समय निकै बढेको मन्त्री त्रिपाठीले बताए । ‘कोरोना संक्रमितिको संख्या माघको पहिलो सातादेखि निकै कम भइरहेकोमा पछिल्लो समय निकै बढ्दै गइरहेको छ,’ मन्त्री त्रिपाठीले भने, ‘अबका सलनमा जनस्वास्थ्यका मापदण्ड पालना प्रभावकारी बनाउन सकिए भने जेठ-असारमा उच्च विन्दुमा पुग्ने देखिन्छ ।’
मन्त्री त्रिपाठीले छिमेकी देश भारतमा बढिरहेका कोरोना संक्रमितको संख्याले सरकारलाई सचेत बनाएको बताए ।
अब बढ्ने संक्रमण नियन्त्रणका लागि संक्रमितको पहिचान, आइसोलेसनको व्यवस्था, अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने मन्त्री त्रिपाठीले बताए ।
पहिले नै सावधानी अपनाइ कोरोना संक्रमणलाई नियन्त्रणमा राख्न सकिने उनको भनाइ थियो ।
मन्त्री त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप खरिदसम्बन्धी अध्यादेश संसदमा अगाडि नबढेकोमा असन्तुष्टि पोखे । सरकारले नीतिगत व्यवस्था गर्नका लागि अध्यादेश ल्याएको उल्लेख गर्दै मन्त्री त्रिपाठीले भने, ‘यो अध्यादेशले कानूनी रुप लिए भने हामीले लगाएको खोप गैरकानूनी लागू औषधमा परिणत हुन्छ । हामीले लगाएको खोप फिर्ता लिन सकिँदैन, कानूनमा व्यवस्था पनि थिएन । सरकारले बाध्यात्मक रुपमाले यो अध्यादेश ल्याएको हो ।’