न्युयोर्क । अमेरिकामा गोली प्रहारबाट मारिएका नेपालीको पहिचान खुलेको छ।
टेक्सास राज्यमा मंगलबार राति एक नेपालीको गोली हानी हत्या भएको थियो। ती नेपाली पोखरा घर भएका ३९ बर्षीय रमेश थापा रहेका छन्।
थापालाई गोली हानेर हत्या गर्ने व्यक्तिलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ।
थापा माथि गोली प्रहार गर्ने व्यक्ति २२ बर्षको फ्रान्सिस ओनियललाई बुधबार बेलुका प्रहरीले साउथ इस्ट अष्टिनबाट पक्राउ गरेको न्युयोर्क स्थित खसोखासले उल्लेख गरेको छ।
प्रहरीले मारिएका व्यक्ति नेपाली रमेश थापा भएको बिहिबारमात्र सार्वजनिक गरेको हो।
कम्प्लेक्सको पार्किङ लटमा थापामाथि आक्रमण भएको थियो। त्यसपछि लगत्तै घटनास्थलमा आपतकालिन टिम पुगेर बचाउने प्रयास गरेपनि बचाउन नसकिएपछि उनलाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो।
घटनास्थलबाट आक्रमणकारी सेतो सेडानमा चढेर फरार भएको थियो। आक्रमणकारीले अप्रिल ५ मा पनि माक्र्वीस पार्कसाइड अपार्टमेन्टमा गोली चलाएको जनाइएको छ। घटनास्थलबाट भागेपछि बुधबार प्रहरीले आक्रमणकारीका नाममा पक्राउ वारेन्ट जारी गरेको थियो।
आक्रमणकारीको धरौटी १० लाख डलर तय गरिएको छ। जसमध्ये साढे ७ लाख डलर हत्या र साढे २ लाख डलर आक्रमणको अभियोगमा रहेको छ। आक्रमणकारीलाई ट्राभिस काउन्टी जेलमा राखिएको छ।
पोखरा महानगरपालिदका १८ सराङकोट पंदेली स्थायी घर घएका थापा ११ बर्षदेखि टेक्सासको अस्टिनमा बस्दै आएका थिए।
कामबाट घर फर्किदै गर्ने क्रममा आफ्नै अपार्टमेन्टको पार्किङ लटमा उनीमाथि गोली हानिएको थियो। थापाका श्रीमति र १३ बर्षका छोरा नेपालमा रहेका छन्।