काठमाडौँ। राजधानीमा दिनहुँ दुई हजारभन्दा बढीमा कोभिड-१९ संक्रमण भइरहेको तथ्यांकसहितका अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरू बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ब्रिफिङ’ भएको छ । कोभिड–१९ संक्रमण तीब्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएको हो ।
अहिलेको भयावह अवस्थामा के गर्न सकिन्छ भन्दै सरोकार वाला सबैको उपस्थितीमा त्यस्तो जानकारी गराउने र कस्तो रणनीतिमा सरकार अघि बढ्ने भनेर छलफल भएको बैठकमा सहभागिले बताए । सीमा आउजाउमा कडाई हवाई उडानमा पनि नियन्त्रण र लकडाउन नै उत्तम उपाए भएको सुझाव पनि त्यहाँ दिइएको छ । जसरी हुन्छ व्यक्तिको आउजाउ कम गराउन पर्ने सुझाव सीसीएमसीको छ ।
सीमा नियमनदेखि अन्य सबै प्रक्रियाको बारेमा जानकारी गर्दै प्रधानमन्त्री ओलीलाई छिट्टै लकडाउनमा जान पर्ने सुझाव दिएको एक सहभागिले बताए । यद्यपि, उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले अहिले भएको अवस्था जानकारी गराउने काम भएको मात्र बताउँदै भने लकडाउन गर्ने वा नगर्ने भन्ने बारेमा कुनै सिफारिस भएको जानकारी छैन । सबै सरोकारवाला पक्ष बसेर प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारेमा जानकारी गराएको उनले प्रष्ट पारे । ‘यो वा त्यो गर्ने भन्ने बारेमा कुनै सिफारिस भएको छैन । तर अवस्था जानकारी गराउने काम भएको छ,’ पाण्डेले भने, ‘त्यही आधारमा अडेर केही गर्ने भए प्रधानमन्त्री तथा मन्त्रीपरिषदले निर्णय लिन सक्ने अधिकार सधै छ ।’