७०० सवारी साधन कारबाहीमा परे

  • प्रकाशित मिति : २०७८ बैशाख १६, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिएका छन् ।

सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी सङ्ख्यामा देखिन्छन् । सरकारी निर्णयानुसार कर्मचारी कार्यालय जाँदा भीडभाड भएका हुनसक्ने प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिए। अघिल्लो पटक बन्दाबन्दी आवतजावत ठप्प नै गराउने खालको भएको र पासका आधारमा मात्रै हिँड्न पाउने व्यवस्था थियो । अहिले निषेधाज्ञा केही खुकुलो र आदेश पनि त्यहीअनुसारको भएको उनको भनाइ छ ।



अपराह्नसम्म झण्डै ७०० सवारी साधन कारबाही गरिइएको उनले जानकारी दिए । उनका अनुसार तीमध्ये सबैभन्दा बढी काठमाडौँमा ४४१ रहेका छन् । प्रहरीले निषेधाज्ञा पालना नगर्नेलाई ‘होल्डिङ सेन्टर’ मा राखेर सम्झाइबुझाइ गरिरहेको छ ।