माधव समूहका २० नेताको राजीनामा तयार, देउवालाई बहुमतको बाटो खुल्दै

  • प्रकाशित मिति : २०७८ बैशाख २९, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सरकार निर्माणका लागि माधव पक्षको समेत सहयोग अपरिहार्य हुने भएपछि राजीनामाको भित्री तयारी भएको उच्च स्रोतले जानकारी दिएको छ । कसैलाई सघाउन भन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा तयार भएको माधव समूहका नेताहरुले बताएका छन् ।



‘ओली आफ्नो कमजोरी सुधार्न तयार भएनन् । उनलाई एमाले र कम्युनिष्ट आन्दोलनका साथै प्राप्त उपलब्धिप्रति माया छैन भन्ने प्रस्ट भयो’, खनाल–नेपाल पक्षका एक नेताले भने, ‘समस्या नै ओली हुन्, फेरि उनलाई नै निरन्तरता दिन सकिँदैन भन्ने निचोड हाम्रो रह्यो ।’

गत २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत देखाउन भएको मतदानमा माधव पक्षका २८ जना सांसद अनुपस्थित भएका थिए । त्यसदिन उनीहरुले राजीनामा नगर्ने बरु संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए । यो समूहका सांसदहरुले मत नदिएको र जसपा पनि सरकारको विपक्षमा गएपछि ओली विश्वास पाउन नसकेर पदमुक्त भएका थिए। राजीनामा दिन तयार भएका सांसदहरुमा नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाललगायत छन् ।