उपत्यकामा निषेधाज्ञा अवधि थप्ने तयारी, उल्लङ्घन गरे एक वर्ष कैद

  • प्रकाशित मिति : २०७८ जेष्ठ ११, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा गत वैशाख १६ देखि जारी निषेधाज्ञा अझै थप्ने तयारी गरिएको छ । कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञा जेठ १३ गतेपछि पनि थप गर्ने तयारी गरिएको हो ।

दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि १३ गते मध्यराति १२ बजे सकिँदैछ। कोरोना संक्रमण अझै मत्थर नभएकाले अझै केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको हो ।



यस विषयमा थप छलफल र निर्णय गर्न आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । यसैबीच आजदेखि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी व्यवस्था छ ।

कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई नगद जरिवाना तथा कैद सजाय दुवै हुने प्रशासनले चेतावनी दिएको छ ।