काठमाडौंँ । नक्साल र सिफल बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल बाल संगठन अन्तर्गतका यी बाल मन्दिरमा आश्रित बालबालिकामा कोरोना संक्रमण देखिएको हो । ५ वर्ष माथिका बालबालिकाहरु केहीमा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार नक्सालको संक्रमित बालबालिकालाई आइसोलेसनमा राखिसकिएको छ । सिफलका बालबालिकालाई पनि आज साँझसम्म आइसोलेसन सेन्टरमा राखिने र अपाङ्गता भएका बालबालिकालाई भने बागडोलमा रहेको अपाङ्गता आइसोलेसन केन्द्रमा राखिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
यस्तै कोरोना परीक्षण गर्दा नक्साल र सिफलमा कार्यररत १० जना कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएको छ ।
अहिलेसम्म सबैको अवस्था सामान्य रहेको छ । उहाँले भन्नुभयो, ‘सबैको अवस्था अहिलेसम्म सामान्य देखिएको छ । सामान्य ज्वरो आउने, खोक्ने लक्षण देखिएको छ । संक्रमणको पुष्टि भएको अधिकांश त लक्षण पनि देखिएको छैन ।’