अनलाइन वा नजिकको क्याम्पसबाट परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी

वैकल्पिक विधिबाट परीक्षा र पठनपाठन गर्न उपकूलपतिको निर्देशन

  • प्रकाशित मिति : २०७८ जेष्ठ ११, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। वैकल्पिक माध्यमबाट रोकिएका परीक्षा सञ्चालन गर्न त्रिविका उपकूलपति धर्मकान्त बाँस्कोटाले निर्देशन दिएपछि परीक्षा नियन्त्रण कार्यालयले अनलाइनबाट परीक्षा लिने तयारी गरेको छ । कोभिड १९ महामारीले गर्दा रोकिएका र आगामी परीक्षा अनलाइन वा नजिकको क्याम्पसमा परीक्षा केन्द्र पारेर भएपनि लिने तयारी भएको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

उनका अनुसार अहिले यसका लागि अनलाइन फर्म वितरण गरिएको छ । कार्यालयको वेबसाइटमा अनलाइन परीक्षामा सामेल हुने वा नजिकको क्याम्पसमा गएर परीक्षा दिने भन्ने विषयमा विद्यार्थीले सुझाव दिन सक्नेछन् । विद्यार्थीको सुझाव लिएपछि परीक्षा सञ्चालन गरिने त्रिविका परीक्षा नियंन्त्रक जोशीले बताए ।



‘हामीले विद्यार्थीका लागि अनलाइन वा नजिकको क्याम्पसमा गएर परीक्षा दिने भनेर दुई वटा विकल्प दिएका छौँ’ उनले इकागजसँग भने, ‘विद्यार्थीको सुझाव पाएपछि त्यही अनुसार परीक्षा सञ्चालन गर्छौँ । गएको वर्ष पनि परीक्षा गर्न समस्या भएकाले यसपटक अहिलेदेखि नै वैकल्पिक माध्यमबाट भएपनि परीक्षा लिने तयारी गरेका हौँ ।’

त्रिविमा साढे दुई लाख विद्यार्थी छन् । उनीहरुका लागि परीक्षाको व्यवस्था मिलाउन त्रिविलाई चुनौति छ । तर कोभिड १९ महामारी कहिले सकिने भन्ने एकिन नभएका कारण वैकल्पिक माध्यमबाट परीक्षा लिने र पठनपाठन गराउनुपर्ने बाध्यता त्रिविलाई छ । त्रिविका उपकूलपति बास्कोटाले कोभिडले गर्दा गाउँ गएका विद्यार्थीलाई सम्पर्कमा आउन, परीक्षाबारे बुझ्न र बैकल्पिक माध्यमबाट पठनपाठनमा सहभागि हुन आग्रह गरेका छन् ।