आगामी रणनीति तय गर्न देउवा निवासमा विपक्षी गठबन्धनको बैठक

  • प्रकाशित मिति : २०७८ जेष्ठ १६, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। प्रतिनिधिसभा विघटनविरूद्ध एक ठाउँमा उभिएका विपक्षी पाँच दल भावि रणनीति तय गर्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा छलफलमा जुटेका छन् ।

संसद विघटनपछि पनि सरकारले चुनाव केन्द्रित बजेट ल्याएको तथा चुनाव नै नगराउने नियतका साथ अघि बढिरहेकाले प्रधानमन्त्री ओलीकाविरुद्ध थप राजनीतिक कदम चाल्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।



बैठकमा वर्तमान राजनीतिक परिस्थिति, सर्वोच्चको सम्भावित फैसला र त्यसपछिका कदमबारे साझा धारणा बनाएर अघि बढ्ने प्रयत्न भइरहेको नेताहरूले बताएका छन् ।

बैठकमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधव कुमार नेपाल पनि सहभागी भएका छन् ।

नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यराति कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति ओलीको उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले विरोध गर्दै कानूनी र राजनीतिक प्रतिवादमा उत्रिएका छन् ।