केही खुकुलो बनाएर काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी, आदेश भोलि जारी हुने

  • प्रकाशित मिति : २०७८ जेष्ठ १८, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी भइरहेको छ।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच निषेधाज्ञा थप्नेबारे छलफल भएको थियो। सो छलफलले अहिलेको निषेधाज्ञालाई केही खुकुलो बनाएर १० दिन थप्ने निष्कर्ष निकालेको हो। निषेधाज्ञा थप्ने आदेश भोलिमात्रै जारी हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।



जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बसेपछि तीन जिल्लाका सिडिओबीच छलफल भएको हो।

‘भोलि १० बजेतिर आदेश जारी हुन्छ। छलफल अझै जारी छ,’ प्रजिअ पराजुलीले भने,’तीन वटै सिडिओबीच छलफल गरियो। अब यसलाई फाइनल रिपोर्ट बनाएर भोलि जारी गर्छौ।’

प्रशासनले काठमाडौं उपत्यकामा थप जेठ मसान्तसम्म निषेधाज्ञा जारी थप्ने तयारी गरेको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार २१ गतेदेखि खाद्यान्न पसल बिहान खोल्न दिने, विकास निर्माणको काम पनि सुचारू गर्ने तयारी छ।

‘जारी निषेधाज्ञालाई अझ व्यवस्थित गरेर खाद्यान्न सामग्री सहज गर्ने भन्ने छ। विकास निर्माणको कार्यथलोमै कामदारहरूलाई राखेर गर्ने र उनीहरूले सुरक्षाका मापदण्ड पालना गर्ने भन्ने कुरा छ,’ उनले भने,’ भोलि डिटेल आउँछ।’

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उद्योग सञ्जालन गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए।