सुनसरी । सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको छातीबाट १२ इन्चको रड निकालिएको छ । झापाका ३८ वर्षीय पुरुषको छातीमा १२ इन्च लामो उनिएको फलामको रड सफलता पूर्वक निकालिएको हो ।
छातीको देब्रेपट्टी करङलाई छेडेर फोक्सोको तल्लो भाग र मुटुको प्रि–कार्डियममा समेत चोट पुर्याउने गरि छेडिएको रड शल्याक्रिया मार्फत सफलता पूर्वक निकालिएको वीपीका सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिनुभयो । चिकित्सकहरुले लेफ्ट थ्रोराकोटोमी र एक्प्रोरेटीभ लाप्राटोमी नामक शल्याक्रिया गरेर छातीबाट उक्त रडक सफलतापूर्वक निकालेको सह–प्रवक्ता पोखरेलको भनाई छ ।
जेनेरल सर्जरी विभागका डा. सुरेश प्रसाद शाहको नेतृत्वमा डा. लोकेश शेखर जैसवाल (कार्डियो थोरासीक भास्कुलर सर्जन), डा.रुपेस प्रसाद शाह, डा. विजय श्रेष्ठ, रतिस कर्ण, डा.अर्विन्द, डा. पवन सापकोटा संलग्न रहनु भएको थियो । त्यसैगरि एनेस्थेसिया विभागका प्रा.डा. सत्येन्द्र नारायण सिंह, डा. योगेश ढकाल, डा. विशाल देव, डा. अरुण मण्डल संलग्न रहनु भएको प्रतिष्ठानले जानकारी दिइएको छ । यसैगरी नर्सहरु जानकी चौधरी, गिता राई, ओटी टेक्निसिय रञ्जन पाठक, हेल्पर दल बहादुर खड्का लगायतको टिमले सफलता पुर्बक रड निकालेको अस्पताल श्रोतले जनाएको छ ।

विरामीलाई ओ.टी. टेबलमा पु¥याईसकेकको अवस्थामा उनको जिन–एक्पर्टका आधारमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि चिकित्सकहरुले आफ्नो कर्तव्य पालना गर्न शल्याक्रियामा खटिएका थिए । शल्यक्रिया पश्चात निजलाई सोही दिन कोभिड अस्पतालको आई.सि.यू. मा भर्ना गरी बाँकी उपचार सुरु गरिएको थियो । विरामी दु्रत गतिमा निको हुँंदै जाँदा जेठ १७ गते पुनःपीसीआर परीक्षण गर्दा नेगेटिभ आएको प्रवक्ता पोखरेलको भनाई छ । त्यसपछि सर्जरी वार्डमा सारिएका उनको पूर्ण स्वास्थ्य लाभपछि सोमबार डिस्चार्ज गरिएको हो ।
गत जेठ ११ गते उनको छातीमा रड गाडिएको अवस्थामा उनलाई वीपीको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यस क्रममा कोरोना संक्रमण समेत पोजेटिभ देखाएपनि बिरामीको स्वास्थ्यलाई ख्याल गर्दै चिकित्सकहरुले शल्याक्रिया गरेका थिए ।