गण्डकीमा आज नयाँ सरकार, को को बन्दैछन् मन्त्री ?

  • प्रकाशित मिति : २०७८ जेष्ठ २९, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। कुनै अनौठो घटना घटेन भने शनिबार गण्डकी प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुदैछ । काँग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार गठन हुन लागेको हो ।

बिहीबार प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विस्वासको मत लिन खोज्दा उनी असफल भएका थिए । कुल ६० सांसद मध्ये उनको पक्षमा २७ सांसद उभिएका थिए भने विपक्षमा ३० सांसद उभिएका थिए । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका थिए भने स्वतन्त्र सांसद एवम युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ सम्पर्कविहीन बनेका थिए ।



शुक्रबार प्रदेश प्रमुख सिताकुमारी पौडेलले बहुमतको सरकार बनाउन २४ घण्टाको समयसिमा तोके पनि विपक्षी गठबन्धनले दुइ घण्टाभित्रै दाबी पेश गरेको छ । विपक्षी गठबन्धनको तर्फबाट बहुमत सदस्यको हस्ताक्षर सहित काँग्रेस नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरिएको हो ।

नेपाली काँग्रेसका १५, माओवादीका ११, जसपाको २, राष्ट्रिय जनमोर्चाका २ र एक स्वतन्त्र गरी बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नेपालीको निवेदन पर्दा उनलाई मुख्यमन्त्री बनाउनु पर्छ भन्ने पक्षमा स्वतन्त्र सांसद राजिव गुरुङ समेत रहेका छन् ।

संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनका लागि आवश्यक आधार बुझाएकाले शनिबार दिउँसो तीन बजे पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नेमा गठबन्धन विश्वस्त छ ।

को को बन्दैछन् मन्त्री ?

बहुमत सदस्यको हस्ताक्षर सहितको दाबी प्रस्तुत गरेसँगै गठबन्धन मन्त्रालय भागबण्डाको तयारीमा जुटेको छ । मन्त्रालयको भागबण्डाका विषयमा काँग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । काँग्रेसबाट मन्त्री बन्नेमा कुमार खड्का, मेखलाल श्रेष्ठ, विन्दु थापा, प्रकाशचन्द्र दवाडी, ललितकला गुरुङ, डोबाटे विश्वकर्माको नाम चर्चामा रहेको बताईन्छ ।

०७४ को आम चुनावअघि अखण्ड पार्टी काँग्रेसमा समाहित गराएका खड्का गण्डकीमा नयाँ सरकार बनाउन काँग्रेसद्वारा गठित वार्ता टोलीका संयोजक समेत हुन् । यस्तै माओवादी केन्द्रबाट रामजी बराल, दीपक कोइराला र गायत्री गुरुङको नाम चर्चामा छ ।

तत्कालीन नेकपाको एकल सरकार रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका हरि बहादुर चुमानको नाम समेत आगामी मन्त्रीका रुपमा चर्चामा छ । जसपाबाट भने हरिशरण आचार्य सरकारमा जाने पक्का छ ।