काठमाडौं। ‘पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो। कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरूले सहयोग गरिदिनुपर्छ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूसँग पार्टी नेतृत्वमा दोहोरिने इच्छासहित यसरी नै सहयोग माग्दै आएका छन्।
पपुलर भोटमा कांग्रेस पहिलो पार्टी भए पनि प्रत्यक्षतर्फ प्राविधिक कारणले निर्वाचन परिणाम आफ्नो पक्षमा नआएको दोहोर्याउँदै पहिलो पार्टी बनाएर मात्र राजनीतिबाट विश्राम लिने चाहना देउवाले प्रकट गरेका छन्।
देउवाको प्रस्तावमा निकटहरूले सहमति जनाउँदै भने, ‘अहिले चुनौतीको सामना गर्न पार्टी नेतृत्वमा तपाईं नै आउनुपर्छ। हामी सहयोग गर्न तयार छौं।’ फेरि पार्टी नेतृत्व सम्हाल्ने देउवाको चाहनालाई यसले बल पुर्याएको छ। तर, निकटहरूले देउवालाई सभापतिको उम्मेदवार बन्न अर्को सर्त अघि सार्दै भनेका छन्, ‘विमलेन्द्र निधिको कुरा के हो ? उहाँलाई समेटेर अघि बढ्नुहोला नत्र अप्ठेरो पर्छ।’
पार्टी उपसभापतिको जिम्मेवारीमा रहेका निधिले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि सभापति देउवा झन्डै ४० वर्ष लामो सम्बन्ध तोड्दै अघि बढ्ने रणनीतिमा देखिएका छन्। देउवाले भन्ने निकटहरूसँग भन्दै आएका छन्, ‘ऊ निधि पनि लड्छ, म पनि सभापतिमा लड्छु, केही फरक पर्दैन।’
निधिलाई मात्र होइन, पुरानो टिमलाई एकजुट बनाएर अघि बढाउन निकटहरूको निरन्तरको आग्रहपछि देउवामाथि दबाब परेको छ। आफ्नो समूहबाट सर्वसम्मतिले १४औं महाधिवेशनमा नेतृत्वको प्रत्यासी बन्ने देउवाको चाहनालाई निधिले खण्डित गरिदिएका छन्। देउवाले पूर्वसहमति पालना नगरेको भन्दै आफू पनि पार्टी नेतृत्वको प्रतिस्पर्धामा उत्रिने बताउँदै निधिले भेटघाटलाई तीव्र बनाएका छन्।यो समाचार आजको नागरिक दैनिकमा छ ।