एमालेको स्थायी कमिटी बैठक, के-के भयो निर्णय ?

  • प्रकाशित मिति : २०७८ असार १३, आईतवार
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। बैठकले आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

आइतबार बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी समिति बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताए ।

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

आयोजक कमिटीको बैठक काठमाडौमा बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकमा सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको निर्णयलाई मान्यता नदिई कर्णालीका चार सांसदलाई अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको विषयमा समेत छलफल भएको बताइएको छ ।

सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी ऐन २०७५ को दफा ३ ले प्रष्ट गरेको व्यवस्थालाई समेत उपेक्षा गरी त्रुटीपूर्ण फैसला गरेकोले त्यसको कानूनी प्रतिवादमा जानु परेको प्रवक्ता ज्ञवालीले बताए ।

यसबारेमा थप केही निर्णय गर्नुपरे अब महाधिवेशन आयोजक कमिटीको बैठकले गर्ने उनले जानकारी दिए । माधव नेपाल लगायतका नेताहरुमाथिको कारवाहीको विषयमा समेत अब सोही बैठकले थप निर्णय गर्ने भएको छ ।