महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा

  • प्रकाशित मिति : २०७८ असार २९, मंगलवार
  • nepaltale.com

काठमाडौं। महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी नयाँ प्रधानमन्त्री नियुक्तिको परमादेश दिएपछि आफूले राजीनामा गरेको बडालले बताए ।

नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बडालले बताए । महान्यायाधिवक्ता कार्यालयमा आजै अपरान्ह बडालको बिदाई कार्यक्रम राखिएको छ ।

उनलाई मंगलबार दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयले बिदाइ गर्दैछ। उनी गत चैत ६ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए। सोही दिन अग्नी खरेलले महान्यायाधीवक्ताबाट राजीनामा दिएपछि बडाललाई नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो।

प्रतिनिधिसभा विघटन भएपछि सरकारको तर्फबाट पहिले खरेलले र अहिले बडालले सरकारको रक्षामा बहस गरेका हुन्। तर सर्वोच्च अदालतले दुवै पटक प्रतिनिधि सभा पुन:स्थापना गरिदिएको छ।

प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्ने क्रममा संवैधानिक इजलासले महान्यायाधिवक्ता रमेश बडालको प्रस्तुतिलाई लिएर तीव्र आक्रोश प्रकट गरेको थिए । अदालतले न्यायाधिवक्ताहरु लगायत प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट बहस गरेका कानुन व्यवसायीले इजलासका सम्बन्धमा गरेका गलफतीका बारेमा समेत तीव्र असन्तुष्टि जनाएका थिए ।

प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको मागसहित दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूका बारेमा महान्यायाधिवक्ता बडालसहित सरकार पक्षका कानुन व्यवसायीले आपत्ति जनाएका थिए ।