एमाले केन्द्रीय कमिटी बैठक बस्दै, देउवालाई मत दिने सांसदको पद के होला ?

  • प्रकाशित मिति : २०७८ श्रावण ४, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (सोमबार) बस्दै छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ।

उनका अनुसार आजको बैठक मूलतः पार्टीको विधान महाधिवेशनका विषयमा केन्द्रित हुने भए पनि हिजो आइतबार प्रतिनिधि सभामा पार्टीको ह्विपविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदका विषयमा पनि छलफल हुनेछ।



‘उहाँहरू (देउवालाई मत दिने) विरुद्ध स्पष्टीकरणको प्रोसेस अगाडि बढ्छ,’ सोमबार बिहान कार्यालय सचिव तामाङले अन्नपूर्ण टाइम्ससँग भने।

हिजो बसेको स्थायी कमिटी बैठकले पनि देउवालाई मतदान गर्नेहरू एमाले नरहने चेतावनी दिएको थियो।

ओली पक्षका पनि ८ जना एमाले सांसदले देउवालाई विश्वासको मत दिएका थिए। एमाले सांसदहरू प्रेम आले, हीरा केसी, पार्वती विशंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकीले प्रधानमन्त्री देउवाका पक्षमा मत हालेका हुन्।

एमालेले यही साउन २५ गते विधान महाधिवशेन गर्दै छ।