काठमाडौं । सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने भएको छ । यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राको रुपमा अस्ट्राजेनिका खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनाए अनुसार काठमाडौंमा १४४ खोप केन्द्रबाट खोप लगाउन सकिनेछ। यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुबाट नै अस्ट्राजेनिका खोप लगाइने भएको हो । भेरोसेलको दोस्रो मात्रा आइतबारसम्म लगाइएको थियो ।
केही दिन अघि भुटान र जापानबाट ल्याइएको अस्ट्राजेनिका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइनेछ । भुटानले तीन लाख र जापानले आठ लाख डोज नेपाललाई दिइसकेका छन् । जापानबाट थप आठ लाख डोज खोप एक हप्ताभित्रै आइपुग्ने बताइएको छ ।
सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने नागरिकलाई लगाउने निर्णय गरेको छ । मन्त्रालयले एक सूचना जारी गरि काठमाडौंमा १४४ खोप केन्द्रबाट खोप लगाउन सकिने जनाएको छ ।
गत चैतमा अक्सफोर्ड अस्ट्राजेनिका र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो । दोस्रो मात्रा १२ सातामा लगाउनु पर्ने भएपनि भारतले खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो । अब त्यतिबेला पहिलो डोज लगाएकाले आजदेखि दोस्रो डोज लगाउन पाउनेछन् ।