काठमाडौं। काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् ।
‘साँझ ८ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले भने–‘८ बजेबाट निजी र सार्वजनिक दुवै सवारी चलाउन रोक लगाउने निर्णय गरेका छौं ।’
निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ ।
कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनको भनाई छ ।
निजी तथा सार्वजनिक सवारीसाधनहरू राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्ने भन्ने निर्णय भएको छ। राति होटलमा गएर भेला भई खानपिन गर्ने धेरै भए भनेर सो निर्णय गरेका हौं,’ प्रजिअ भने। राति ८ बजेदेखि लागू हुने यो नियम अर्को दिन बिहान कतिबेलासम्म लागू हुने हो भन्नेबारे भने उनले खुलाएनन्।
सिडिओहरूको बैठकले उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ। अहिले जारी निषेधाज्ञा भोलि बुधबार सकिँदैछ। अरू निर्णयहरू साबिककै भएको प्रजिअले बताए।
थपिएको निधेषाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न/गराउन नपाउने उल्लेख छ।
यस्तै चोक/खुला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न/गराउन नपाउने व्यवस्था जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशमा उल्लेख गरिएको छ।
साथै, बिहीबार राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाउने निर्णयसमेत उपत्यकाका सीडीओहरुको बैठकले गरेको छ।