पूजापाठ गरी मनाइयो सोनाम ल्होसार

  • प्रकाशित मिति : २०७८ माघ १९, बुधबार
  • nepaltale.com

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज चैत्य एवं गुठीमा पूजा आराधना गरी मनाइएको छ ।

राजधानीमा विशेषगरी बौद्ध र स्वयम्भू क्षेत्रमा सोनाम ल्होसार मनाउने गरिन्छ । बौद्ध क्षेत्रका गुठी एवं चैत्यमा पूजा पाठ गरिए पनि औपचारिक कार्यक्रम भने गरिएन । बौद्ध महाचैत्यमा घुम्ने श्रद्धालुको भने भीड देखिएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले जानकारी दिए।

कोरोना महामारी नहुँदा बौद्ध क्षेत्रमा शान्ति पदयात्रासहित सांस्कृतिक कार्यक्रम गरेर सोनाम ल्होसार मनाउने गरिन्थ्यो । स्वयम्भू क्षेत्रमा पनि विगत वर्षमा जस्तो औपचारिक कार्यक्रम एवं शान्ति पदयात्रा गरिएन । यहाँका चैत्य, गुम्बा र गुठीमा भने पूजा आराधना गरिएको स्थानीय रत्नसागर लामाले सुनाए । स्वयम्भू क्षेत्रमा पनि भक्तजनको भने भीड नै रहेको उनले सुनाए ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु भएको छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश भएको जनाइएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ) , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ जातिको बाहुल्य रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ । यस वर्ष सोनाम ल्होसारमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । पहिले यो पर्वका अवसरमा दिने गरिएको बिदा विगतको सरकारले कटौती गरेकामा विरोध भएको थियो । रासस