काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनको विवाद फुट नजिक पुगेसँगै भट्टराई बालुवाटार पुगेका हुन् । एमसीसीको विषयलाई लिएर आफ्नै पार्टीमा एकमत बनाउन नसकेका भट्टराईले प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
जसपामा भट्टराई पक्ष एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष यसको विपक्षमा रहेको छ । यादव पक्षले कुनै पनि हालतमा एमसीसी परियोजना पास गर्न नहुँदै अडान कायम राख्दै आएको छ । एमसीसीमा मत नहाल्ने हो भने सरकारमा सहभागी गठबन्धनका सहयात्रीले सरकार छाड्नुपर्ने धारणा भट्टराईले राख्दै आएका छन् ।