काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले आफूमाथि ढुंगा हानेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भकाउन र ढुंगा हान्न लगाएको बताएका हुन् ।
‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेपालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, उनले भने, ‘उनीहरुलाई त ताली बजाउँछन्।’
‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन ।’ उनले भने, ‘नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन ।’
कांग्रेस(माओवादीको संयुक्त सरकारका बेला महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उनले भने, ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् । अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?’
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। शुक्रबार बिहान धनगढीबाट काठमाडौं फर्किएलगत्तै अध्यक्ष नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
देउवा र नेपालबीचको संवादसँगै एमसीसी संसदबाट अनुमोदन गराउन नयाँ विकल्पको खोजी सुरु भएको छ। सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउन नेताहरु अन्तिम प्रयासमा जुटिरहेका छन्।
सत्ता गठबन्धन कायमै राखेर एमसीसी परियोजना पास गर्न ठबन्धनका नेताहरु सहमत भएका छन् । सत्ता गठबन्धन कायमै राखेर एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नका लागि सत्तारुढ दलका नेताहरु फेरि छलफलमा जुटेका छन्।
आफ्ना अडानमा लचिलो हुँदै एमसीसी अनुमोदन गर्नका लागि सत्ता गठबन्धन तयार देखिएका छन्। एमसीसी सम्झौताको विपक्षमा उभिएका सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन जोगाउने निर्णय गरेसँगै विकल्पमा छलफल सुरु भएको हो।
आफ्नो अडान कायम नै राखेर विकल्पमा छलफल गर्न तयार माओवादी तयार भएको छ । एमसीसी सम्झौतका लागि संसदको विशेष समिति बनाउने, विज्ञको राय लिने वा संसदीय समितिमा पठाउनेलगायत विषयमा छलफल हुनसक्ने माओवादी केन्द्रले विकल्प अघि सारेको छ ।
एकीकृत समाजवादीले संशोधनको लागि एमसीसीसँग एकपटक आग्रह गर्ने कि भन्ने आशय व्यक्त गरेको छ। विकसित पछिल्लो घटनाक्रममा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई बालुवाटार डाकेका छन्।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका छन्।