ताप्लेजुङ। नेकपा एमालेका सचिव योगेश भट्टराईको गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस हावी भएका छन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष पद जितेका छन् भने वडामा पनि एमाले कमजोर देखिएको छ । कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका हुन् ।
गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ भने उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका छन्।
वनेमले २६०९ मत प्राप्त गरे भने एमालेका राजनकुमार थत्लुङले २०५२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
गाउँपालिका उपाध्यक्षमा कांग्रेसका उम्मेदवार कमलकुमारी लिम्बू निर्वाचित भएकी छन् ।
त्यस्तै वडा–१ मा माओवादीका चन्द्रकुमार तामाङ, वडा २ मा नेकपा एकीकृत समाजवादीका नरेन्द्र लिम्बू, वडा ३ मा कांग्रेसका खगेन्द्र थक्लुङ, वडा ४ मा कांग्रेसका फुर्बा शेर्पा, वडा ५ मा माओवादीका केशर लिम्बू र ६ मा एमालेका राजुमान लिम्बू निर्वाचित भएका छन्।
अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले गाउँपालिकाका अध्यक्ष उपाध्यक्षसहित सबै वडामा जित हासिल गरेको थियो ।