२ उम्मेदवारको मत बराबर : एक जना अस्पतालमा, अर्का प्रहरी हिरासतमा

  • प्रकाशित मिति : २०७९ जेष्ठ ३, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। अहिले देशभर स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ। यसैक्रममा धादिङ जिल्लामा रोचक परिदृश्य देखा परेको छ।

धादिङको निलकण्ठ नगरपालिका ६ को वडा अध्यक्षमा नेपाली कांग्रेका उम्मेदवार भूपेन्द्र श्रेष्ठ र माओवादीका उम्मेदवार लक्ष्मण रम्तेलको मत बराबर भएको छ।



दुवै जनाले ७३८–७३८ मत ल्याएको धादिङका पत्रकार मनिष दुवाडीले जानकारी दिनुभएको छ।

यी दुई जना मध्ये अहिले १ जना अस्पतालमा उपचाररत हुनुहुन्छ । भने एक जना प्रहरी हिरासतमा हुनुहुन्छ ।

दुई पक्षबीच बैशाख २८ गते राति झपड भएको थियो झडपको क्रममा कांग्रेसका उम्मेदवार भूपेन्द्र श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । आक्रमणको आरोपमा माओवादी वडा अध्यक्षको उम्मेदवार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ।

पत्रकार दुवाडीका अनुसार घाइते श्रेष्ठको टाउकोमा चोट लागेका कारण सोमबार मात्रै अप्रेसन भएको छ । उहाँ अहिले माइतीघरको अन्नपूर्ण न्यूरो अस्पतालमा हुनुहुन्छ ।

रम्तेललाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । मत बराबर भएपछि के गर्ने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन । दुवै पक्षले पुनः मत गणना गर्नुपर्ने माग गरेका छन् । निर्वाचन अधिकृतले पुनः मतगणना गर्न मानेका छैनन् ।

गोलाप्रथाका लागि पनि दुवै उम्मेदवार नभएकाले समस्या भएको छ । अहिले उक्त समस्यालाई थाती राखेर अर्काे वडाको मतगणना भइरहेको छ ।

निर्वाचन प्रचार-प्रसारका दौरान दुवै उम्मेदवार पक्षको पटक-पटक घम्साघम्सी परेको थियो । उक्त दिन ठूलो संख्यामा आएका माओवादी कार्यकर्ताले आफूहरूमाथि आक्रमण गरेको आरोप कांग्रेस पक्षको छ। घटनामा अन्य २० जना घाइते भएका थिए। दुवै उम्मेदवारलाई अस्पताल र हिरासतबाट निकालेर मतदान गर्न भने दिइएको थियो ।