३४० पालिकाको अन्तिम परिणाम घोषणा, कुन दलले कति पालिका जिते ?

  • प्रकाशित मिति : २०७९ जेष्ठ ३, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । मंगलबार साँझ ५ बजेसम्म तीन सय चालिस पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार ३४० पालिकाको मत परिणाम घोषणा भइसकेको छ । जसअनुसार अधिकांश पालिकामा प्रमुख दलहरुबीच नै प्रतिस्पर्धा भएको देखिन्छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा भएको छ ।



एक तिहाई पालिकामा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल भएको थियो । गठबन्धन भएका अधिकांश पालिकामा सत्तारुढ दल विजयी भएका छन् । यसले प्रमुख प्रतिपक्षी एमालेलाई धक्का लागेको छ ।

सार्वजनिक भएको मतपरिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि छ भने एमालेले कांग्रेसलाई पछ्याइरहेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा छ । कांग्रेस १५१ पालिकामा विजयी भएको छ । एमाले १०० पालिकामा विजयी भएको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्र ७३ पालिकामा विजयी भएको छ ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी ४ स्थानीय तहमा विजयी भएको छ । जनता समाजवादी पार्टी ३ पालिकामा विजयी भएको छ ।

७५३ स्थानीय तहमध्ये अधिकांश् पालिकाको मत बिहिबार रातिसम्म सार्वजनिक भइसक्ने अनुमान गरिएको छ । ६ महानगर र ११ उपमहानगरपालिकाको मत परिणाम आउन भने अझै केहि दिन लाग्ने निश्चित छ ।